गृहमन्त्री अर्यालको चेतावनी: समुदाय बिना विपद् न्यूनीकरण असम्भव!

गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् न्यूनीकरणलाई केवल सरकारी जिम्मेवारी होइन, सामुदायिक र संस्थागत सहकार्यको साझा दायित्वका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ।
अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस–२०२५ का अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खुमलटारस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) मा आयोजना गरेको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, “नेपाल भौगोलिक रूपमा सुन्दर देश हो, तर त्यसै अनुपातमा विपद्को जोखिम पनि उच्च छ। हालैका बाढीपहिरो र भूकम्पहरूले हामीलाई स्पष्ट सिकाइ दिएका छन्—विकासको गति विपद् व्यवस्थापनविना टिक्दैन।”
गृहमन्त्री अर्यालका अनुसार, सरकारले विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय तहदेखि केन्द्रसम्मका संयन्त्रलाई सुदृढ बनाउँदै आएको छ। उहाँले भने, “विपद् केवल प्रकृतिको परिणाम होइन, सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीको पनि प्रतिबिम्ब हो। त्यसैले जिम्मेवारी सबै तहमा बाँडिनुपर्छ।”
प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले पछिल्ला वर्षहरूमा विपद्को आवृत्ति र क्षति दुवै बढेको उल्लेख गर्दै विकासका परियोजनाहरू अब ‘विपद् प्रतिरोधी’ दृष्टिकोणबाट अघि बढाउनुपर्ने बताए। उनका शब्दमा, “विपद् व्यवस्थापन अब प्रतिक्रियात्मक होइन, अग्रिम योजना र वैज्ञानिक दृष्टिकोणमा आधारित हुनुपर्छ।”
कार्यक्रममा नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले पूर्वसूचना प्रणाली, समुदायमा आधारित उपाय र लैङ्गिक संवेदनशील योजनाहरूको आदानप्रदानबाट दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त गरे।
इसिमोडका महानिर्देशक डा. पेमा ग्यमात्सोले सम्मेलनले प्रविधिको उपयोग र स्रोत परिचालनमा नयाँ चेतना र समन्वय ल्याउने अपेक्षा व्यक्त गरे। उहाँका अनुसार, “विपद् पूर्वतयारी र चेतनाको सञ्जाल नै भविष्यको क्षतिलाई घटाउने पहिलो सुरक्षा पंक्ति हो।”
विपद् जोखिम न्यूनीकरणसम्बन्धी यो चौथो राष्ट्रिय सम्मेलन दुई दिन चल्नेछ, जसमा नीति निर्माता, शिक्षाविद्, विकास साझेदार, निजी क्षेत्र र सामुदायिक नेताहरूले अनुभव आदानप्रदान गर्नेछन्। आयोजकहरूका अनुसार, सम्मेलनले नेपाललाई क्षेत्रीय स्तरमा ज्ञान र अभ्यास साझा गर्ने प्रमुख प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
भूकम्प, पहिरो, र बाढीले पटक–पटक परिक्षा लिइरहेको नेपालका लागि यो सम्मेलन केवल औपचारिकता होइन—आफ्नै भविष्य सुरक्षित गर्ने सामूहिक प्रतिबद्धताको पुनः स्मरण हो।