युद्धविरामपछि गाजामा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता तीव्र!

गाजा क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता अभियान युद्धविरामसँगै तीव्र गतिमा अघि बढेको छ। संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता समन्वय कार्यालय (OCHA) का अनुसार, मार्च महिनापछि पहिलो पटक पकाउने ग्यास गाजामा प्रवेश गरेको छ। यो आपूर्तिले स्थानीय परिवारहरूका लागि दैनिक जीवनमा केही सहजता ल्याएको बताइएको छ।
संयुक्त राष्ट्रसङ्घका ताजा विवरणअनुसार, विस्थापित परिवारका लागि पाल, ताजा फलफूल, पिठो र औषधी लगायतका सामग्री आइतबार दिनभर गाजामा आपूर्ति गरिएका छन्। संयुक्त राष्ट्रसङ्घका सह–साझेदार संस्थाहरूले गाजाको उत्तर र दक्षिण दुवै क्षेत्रमा लाखौँ सर्वसाधारणका लागि तातो खाना र रोटी वितरण गरिरहेका छन्।
ओसीएचएको भनाइअनुसार, इजरायली अधिकारीहरूबाट थप राहत सामग्री प्रवेशको स्वीकृति पनि प्राप्त भइसकेको छ। यसअन्तर्गत करिब १ लाख ९० हजार मेट्रिक टन खाद्यान्न, औषधी, र आश्रय सामग्री आपूर्तिको तयारी भइरहेको जनाइएको छ। ओसीएचएको वक्तव्यमा भनिएको छ, “यो सहयोग अभियानको सुरुआत मात्र हो, अझ व्यापक सहायता आगामी हप्तादेखि निरन्तर हुनेछ।”
संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता तथा आपतकालीन राहत समन्वयकर्ता टम फ्लेचरले शुक्रबार पत्रकारहरूलाई जानकारी दिँदै भने, “हामी पहिलो ६० दिनको अवधिमा दैनिक सयौं ट्रकमार्फत करिब १ लाख ७० हजार मेट्रिक टन राहत सामग्री—खाद्यवस्तु, औषधी तथा अन्य आवश्यक सामग्री—गाजामा पुर्याउने तयारीमा छौं।” उनका अनुसार, यो अभियानले करिब २१ लाख मानिसलाई खाद्य सहायता, ५ लाख जनालाई पोषण सेवा, १४ लाख जनालाई पानी तथा सरसफाइ सेवा, र ७ लाख बालबालिकालाई अस्थायी विद्यालय सुविधासहितको शिक्षासेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
गाजामा यो सहायता अभियान गत शुक्रबारदेखि लागू युद्धविराम सम्झौतासँगै सम्भव भएको हो। इजरायल र हमासबीच इजिप्टको शार्म अल–शेखमा भएको तीनदिने वार्तामा इजिप्ट, कतार, टर्की र अमेरिकाको मध्यस्थता रहेको थियो।
दुई वर्ष लामो रक्तपात र नाकाबन्दीपछि सुरु भएको यो आपूर्ति प्रयासले गाजामा बाँच्नका लागि संघर्षरत लाखौं नागरिकमा नयाँ आशा जगाएको छ। तर सहायता टोलीहरूले भने, यो सुरुआत मात्रै हो—जीवन पुनःनिर्माणको बाटो अझै लामो र कठिन रहेको संकेत गरेको छ।