नेपाली विद्यार्थी बिपिन जोशी अब फर्किँदैनन्! हमासले शव इजरायललाई बुझाउने तयारी

इजरायल–हमास युद्ध सुरु भएको दुई वर्ष नबित्दै नेपाली विद्यार्थी बिपिन जोशी जीवितै फर्कने सबै आशा अन्ततः समाप्त भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र टाइम्स अफ इजरायलका रिपोर्टअनुसार, जोशीको मृत्यु पुष्टि भएको छ र उहाँको शव रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।
हमासको सैन्य एकाइले सोमबार सार्वजनिक गरेको चार मृत बन्दीहरूको सूचीमा गाई इलुज, योसी साराबी, बिपिन जोशी र ड्यानियल पेरेजका नाम छन्। विज्ञप्तिअनुसार शवहरू दक्षिण गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई बुझाउने तयारी भइरहेको छ, यद्यपि हस्तान्तरणको सटीक मिति खुलाइएको छैन।
बिपिन जोशी नेपालका एक कृषि विद्यार्थी थिए, जो सन् २०२३ अक्टोबर ७ मा हमासको आकस्मिक आक्रमणपछि हराएका थिए। त्यस आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो, भने बिपिनलाई हमासले बन्धक बनाएर गाजामा लगेको पुष्टि भएको थियो। त्यसयता उहाँको अवस्था अज्ञात रहँदै आएको थियो।
टाइम्स अफ इजरायलका अनुसार, जोशीसँगै सूचीमा रहेका अन्य बन्दीहरूमध्ये इलुजलाई नोभा संगीत उत्सवबाट अपहरण गरिएको थियो र उपचार नपाई गाजामा मृत्यु भएको पुष्टि सन् २०२३ डिसेम्बरमा भएको थियो। २२ वर्षीय ड्यानियल पेरेज इजरायली सेनाका अधिकारी थिए, जसको मृत्यु त्यसै वर्षको अक्टोबर ७ मा भएको थियो। त्यस्तै, ५३ वर्षीय योसी साराबीलाई आफ्नै घरबाट अपहरण गरी बन्धक अवस्थामै हत्या गरिएको इजरायली अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार, युद्धविरामपछि हमासले सोमबार आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्दीहरूलाई मुक्त गरेको छ भने बाँकी २८ जना मृतकको शव फिर्ता गर्ने तयारीमा छ। त्यसै समूहमा बिपिन जोशी पनि परेका छन्।
नेपाल सरकारले बिपिन जोशीको अवस्था बारे बारम्बार इजरायली अधिकारीहरूसँग सम्पर्कमा रहेको जनाएको थियो। तर दुई वर्ष लामो प्रतिक्षापछि परिवार र देशले अब उहाँको मृत शरीर फर्कने प्रतीक्षा गर्नुपरेको छ।
७ अक्टोबर २०२३ को हमास आक्रमणपछि सुरु भएको यो द्वन्द्वले हजारौँको ज्यान लिएको छ, लाखौँ विस्थापित भएका छन् र अझै पनि थुप्रै बन्दीहरूको अवस्था अज्ञात छ। बिपिन जोशीको निधनले यो युद्धको मानवीय मूल्य नेपाली जनतासम्म पनि प्रत्यक्षरूपमा आइपुगेको स्मरण गराउँछ—जहाँ एउटा युवाको सपना सीमाना नाघेर सधैंका लागि त्यहीँ थामियो।