इजरायल–हमास युद्धविरामपछि २० बन्धक रिहा हुने तयारी, विपिन जोशीको नाम सूचीमा समावेश

दुई वर्षदेखि निरन्तर जारी इजरायल र हमासबीचको युद्ध अन्ततः रोकिन पुगेको छ। अमेरिकाको विशेष पहलमा दुवै पक्षबीच भएको वार्ता सफल बनेसँगै शुक्रबारदेखि औपचारिक युद्धविराम लागू भएको हो। यस घटनाले मध्यपूर्वदेखि विश्वभर राहत र आशाको सन्देश फैलाएको छ—विशेष गरी ती परिवारहरूमा, जसका प्रियजनहरू यस संघर्षमा बेपत्ता वा बन्धक बनेका थिए।
२०२३ अक्टोबरमा हमासले इजरायलमा गरेको आकस्मिक आक्रमणपछि भएको युद्धमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। त्यही समयमा बैतडीका विपिन जोशी हमासद्वारा अपहरणमा परेका थिए। दुई वर्षसम्म उनको अवस्था अज्ञात रहँदै आएको थियो। अब युद्धविरामसँगै सोमबारसम्म २० जना बन्धक रिहा गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। तीमध्ये विपिन जोशीको नाम पनि रिहाइको सूचीमा समावेश हुनसक्ने संकेत गरिएको छ।
गत अगस्टमा विपिनकी आमा र बहिनी पुष्पा जोशी इजरायल पुगेका थिए। उनीहरूले त्यहाँका उच्च अधिकारीहरूसँग भेट गरी विपिनको सुरक्षित रिहाइका लागि अपिल गरेका थिए। त्यस क्रममा उनीहरू तेलअभिभस्थित होस्टेज स्क्वायरमा अन्य बन्धकका परिवारसँगै उभिएर आफ्नो पीडा बाँडिरहेका थिए, जसले इजरायली जनतामा पनि गहिरो सहानुभूति जगाएको थियो।
इजरायलले वार्ताको पूर्वसर्तका रूपमा ४८ जना बन्धकलाई निःसर्त रिहा गर्नुपर्ने अडान राख्दै आएको थियो। यही सहमतिको बाटो हुँदै युद्धविराम सम्भव भएको जनाइएको छ। हमास र इजरायल दुवै पक्षले मानवीय सहायताको पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता पनि जनाएका छन्।
विपिनका दाइ किशोर जोशीले भने, “हामी दुई वर्षदेखि भाइ फर्किने प्रतीक्षामा छौं। यदि यो खबर सत्य भयो भने, यसपालिको तिहार हाम्रो जीवनकै सबैभन्दा ठूलो उपहार हुनेछ।”
दुई वर्ष लामो अनिश्चितता र पीडाको यो यात्रा अब आशाको नयाँ मोडमा पुगेको छ। गाजाको युद्धविराम र विपिनको सम्भावित रिहाइले फेरि पनि मानवताको उज्यालो पक्ष जगेर्न सक्ने विश्वास जगाएको छ।