समाचार

प्रधानमन्त्री कार्कीको भावनात्मक सन्देश: विपिनको बहादुरी राष्ट्रले कहिल्यै बिर्सने छैन!

प्रधानमन्त्री कार्कीको भावनात्मक सन्देश: विपिनको बहादुरी राष्ट्रले कहिल्यै बिर्सने छैन!

प्रधानमन्त्री सुशीला कार्कीले इजरायल–हमास द्वन्द्वका क्रममा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उहाँको बहादुरी र त्यागलाई “राष्ट्रिय गौरवको प्रतीक”का रूपमा स्मरण गर्नुभएको छ।

मंगलबार जारी शोकसन्देशमा प्रधानमन्त्री कार्कीले विपिनको आत्माको चिरशान्तिको कामना गर्दै भनिन्, “उहाँको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन।” दुई वर्षदेखि जोशीको बन्धक मुक्तिको आशा र सामूहिक प्रार्थनाबीच आएको निधनको खबरले आफूलाई स्तब्ध बनाएको उनले बताइन्।

प्रधानमन्त्रीले विपिन जोशीलाई केवल एक विद्यार्थी होइन, विदेशमा अध्ययनरत हजारौं नेपाली युवाको प्रतिनिधि र प्रेरणाका स्रोतका रूपमा वर्णन गरिन्। “उहाँ सकुशल फर्किएर नेपालको विकासमा योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो,” उनले लेखिन्, “तर यो समाचारले सम्पूर्ण नेपालीलाई गहिरो पीडा दिएको छ।”

विपिन जोशी सन् २०२३ मा इजरायलको दक्षिणी क्षेत्रमा हमासको आक्रमणका बेला अपहरणमा परेका थिए। दुई वर्षपछि उनको मृत्युको पुष्टि भएपछि नेपालभित्र गहिरो शोक छाएको छ। प्रधानमन्त्री कार्कीले स्मरण गरिन्, “उहाँ सदा शान्ति पक्षधर नेपालको छोरा हुनुहुन्थ्यो, तर अन्तर्राष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बन्नुपर्‍यो।”

उनले जोशीले बन्धक हुनुअघि देखाएको साहस र त्यागकै कारण उनका कैयौं साथीसँगको जीवन जोगिन सफल भएको भन्दै त्यसलाई “जोशीको अमर विरासत”को रूपमा व्याख्या गरिन्।

प्रधानमन्त्री कार्कीले शोकसन्देशको अन्त्यमा भनिन्, “विपिनले देखाएको साहस र मानवताप्रतिको निष्ठा हाम्रा भविष्यका पुस्ताका लागि प्रेरणाको स्रोत बन्नेछ। राष्ट्रले उहाँको नाम सदैव सम्मानका साथ सम्झिरहनेछ।”