राजनीति

ओलीको भावनात्मक अपिल: झोली–तुम्बा बोक्ने होइन, मूल घर फर्किनुस्!

ओलीको भावनात्मक अपिल: झोली–तुम्बा बोक्ने होइन, मूल घर फर्किनुस्!

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन खुलेर आग्रह गर्नुभएको छ। बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले “फर्केर मूल घरमा आउन” अपील गर्दै, पार्टी फुटको कारण बनेका विगतका गल्तीहरूलाई भुलेर एकताको बाटो समात्न आग्रह गर्नुभएको हो।

ओलीले समाजवादी पार्टीका नेता–कार्यकर्तामाथि व्यङ्ग्य गर्दै भने, “आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै झोली तुम्बा बोकेर कसको पिँढीमा बास बसुँ भनेर हिँडिरहेका छन्। म भन्न चाहन्छु—आश्रय खोज्न कतै नगइरहनुहोस्, तपाईंहरूको आफ्नै घर एमाले नै हो।”

उनले एमाले निर्माणमा एकीकृत समाजवादीमा गएका नेताहरूको पनि योगदान रहेको भन्दै ती सबैलाई “मूल घर फर्कन” आग्रह गरे। ओलीका शब्दमा, “कतिपय साथीहरूले गल्ती गर्नुभयो, तर गल्तीमा अल्झिरहनु अब आवश्यक छैन। एमाले विशाल छाती भएको पार्टी हो—यहाँ सबैका लागि ठाउँ छ।”

एमालेका प्रचार विभागका अनुसार अध्यक्ष ओलीले आफ्नो सम्बोधनमा पार्टीको साढे छ लाखभन्दा बढी सदस्य रहेको र संगठनलाई “अझै बलियो र व्यापक बनाउने” उद्देश्यसहित सबै पुराना सहकर्मीलाई पुनः एकताबद्ध हुन आह्वान गर्नुभएको हो।

पार्टी विभाजनपछि पहिलोपटक ओलीले समाजवादीका कार्यकर्तालाई यति स्पष्ट भाषामा फर्किन आग्रह गर्नुले वाम राजनीति पुनः एकताको दिशातर्फ मोडिन सक्ने संकेतका रूपमा पनि हेरिएको छ। राजनीतिक विश्लेषकहरूको मतमा, यो कदम ओलीको संगठनभित्रको सुदृढीकरण र आगामी महाधिवेशनअघिको तयारीसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ।

जावलाखेलमा जारी बैठकबाट एमालेले आफ्नो आन्तरिक एकता सुदृढ पार्दै, आगामी निर्वाचन र वाम पुनर्संरचनाको दिशामा नयाँ सन्देश दिने अपेक्षा गरिएको छ।