समाचार

कांग्रेसमा ठूलो हलचल: विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइँदै

कांग्रेसमा ठूलो हलचल: विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइँदै

 नेपाली कांग्रेसभित्र बढ्दो असन्तुष्टि र संगठनात्मक अन्योलबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन मागसहितको हस्ताक्षर बुझाउने तयारी गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो केन्द्रीय सदस्य गुरुराज घिमिरेको नेतृत्वमा प्रतिनिधिहरूको टोलीले हस्ताक्षर बुझाउने कार्यक्रम तय गरिएको हो।

घिमिरेका अनुसार कुल ४,७४३ महाधिवेशन प्रतिनिधिमध्ये २,४८८ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका छन्, जुन कुल प्रतिनिधिको ५२ प्रतिशतभन्दा बढी हो। उनका अनुसार ७७ वटै जिल्ला र विदेशस्थित क्षेत्रीय शाखाबाट पनि हस्ताक्षर संकलन गरिएको छ। उनले थपे, “१९० प्रतिनिधि विभिन्न कारणले अनुपस्थित भए पनि संख्यात्मक रूपमा यो माग विधानअनुसार वैध र बहुमतपूर्ण छ।”

कांग्रेसको विधानअनुसार नियमित महाधिवेशन हरेक चार वर्षमा गर्नुपर्ने व्यवस्था छ। तर यो अवधिभित्र पार्टीले आवश्यक तयारी र सहमति जुटाउन नसकेपछि विशेष महाधिवेशनको माग औपचारिक रूपमा अघि आएको हो। कांग्रेस विधानले अधिकतम एक वर्षको अवधि थप गर्न सकिने प्रावधान राखे पनि त्यसका लागि केन्द्रीय कार्यसमितिको निर्णय आवश्यक पर्छ।

यसैबीच, सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेपछि विशेष महाधिवेशनको मुद्दा औपचारिक रूपमा उनको काखमा आएको छ। अब बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशन बोलाउने कि नियमित महाधिवेशनमै जाने भन्नेबारे अन्तिम निर्णय गर्नेछ।

पार्टीभित्र लामो समयदेखि स्थगित संगठन विस्तार, नेतृत्त्वको उत्तराधिकार बहस र आन्तरिक सन्तुलनका कारण असन्तुष्टि बढ्दो छ। यसबीच आएको विशेष महाधिवेशनको मागलाई पार्टीको आन्तरिक लोकतन्त्रको परीक्षण र नेतृत्व पुनर्संरचनातर्फको संकेतका रूपमा हेरिएको छ।