खेल

ऐतिहासिक सफलता: नेपाल तेस्रो पटक टी–२० विश्वकपमा प्रवेश!

ऐतिहासिक सफलता: नेपाल तेस्रो पटक टी–२० विश्वकपमा प्रवेश!

नेपाली क्रिकेटले अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा स्थान बनाएको छ। ओमानमा जारी एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगितामा बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)ले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपाल स्वतः विश्वकपका लागि छनोट भएको हो।

योसँगै नेपालले लगातार दोस्रो पटक विश्वकप खेल्ने अवसर पाएको छ। यसअघि नेपालले सन् २०१४ मा बंगलादेश र २०२४ मा वेस्ट इन्डिज–अमेरिकामा सम्पन्न टी–२० विश्वकपमा सहभागिता जनाइसकेको थियो। अब नेपालले २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपमा खेल्नेछ।

यस पटकको छनोट अभियानमा नेपाल र आयोजक ओमानले उत्कृष्ट प्रदर्शन गर्दै दुई खेल अगावै विश्वकपमा आफ्नो स्थान सुनिश्चित गरेका हुन्। सुपर सिक्स चरणमा यूएईले सामोआलाई २२५ रनको लक्ष्य दिएपछि सामोआ २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रनमै समेटिएपछि अंक तालिकामा नेपाल र ओमान दुबै ६–६ अंकका साथ शीर्ष दुई स्थानमा पुगेका हुन्।

नेपालले सुपर सिक्समा आज ओमानसँग खेल्दैछ र अन्तिम खेल शुक्रबार सामोआविरुद्ध हुनेछ। यसैबीच, बाँकी एक विश्वकप स्थान यूएई र जापानबीचको अन्तिम खेलबाट तय हुनेछ।

नेपालको यो निरन्तर सफलता क्रिकेट विकासमा देखिएको संगठनात्मक परिपक्वता, युवा खेलाडीको निरन्तर प्रदर्शन र विश्वस्तरीय प्रतिस्पर्धामा अघि बढ्ने क्षमताको प्रतीकका रूपमा हेरिएको छ। आगामी विश्वकपले नेपाललाई फेरि एकपटक विश्व रंगमञ्चमा आफ्नो सामर्थ्य देखाउने अवसर दिनेछ।