ओलीको राजनीतिक प्रस्तावमा छलफल तातियो, ५० केन्द्रीय सदस्यले राखे आफ्ना विचार!
नेकपा (एमाले)को १०औं केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत ‘नेपालको राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षक राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म ५० जना केन्द्रीय सदस्यले आफ्नो सुझाव र टिप्पणी पेश गरिसकेका छन्।
बैठकमा सहभागी सदस्यहरूले पछिल्ला राजनीतिक घटनाक्रम—विशेष गरी अन्तरिम सरकारको गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन, र सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनमा एमालेको भूमिका—प्रति गहिरो चासो व्यक्त गरेको गौतमले बताए। उनका अनुसार सदस्यहरूले संविधान पक्षधर दलहरूबीचको सहकार्य, लोकतन्त्रको रक्षा र स्थायित्व सुनिश्चित गर्ने सम्भावित रणनीतिबारे पनि आफ्ना विचार राखेका छन्।
गौतमका शब्दमा, “अहिलेसम्म आएका सुझावहरूमा प्रमुख रूपमा प्रतिनिधि सभा विघटनको सन्दर्भमा नेपालको धारणा, अन्तरिम सरकारको संरचना र फागुन २१ को निर्वाचनमा पार्टीको सहभागिताबारे केन्द्रीय सदस्यहरूबीच गहिरो विमर्श भइरहेको छ।”
एमाले अध्यक्ष ओलीले प्रस्तुत राजनीतिक प्रस्तावमा देशको हालको सत्तासंरचना, लोकतान्त्रिक अभ्यासमा देखिएका चुनौती, र पार्टीको दीर्घकालीन नीति दिशाबारे विश्लेषण गरिएको छ। बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो प्रदेश र भूगोलका विशेषता अनुसार पार्टी नीतिलाई अझ व्यावहारिक र जनमुखी बनाउन सुझाव दिएका छन्।
एमालेको १०औं पूर्ण बैठक भोलि बिहान ८ बजे पुनः बस्ने तय भएको छ। बैठकले राजनीतिक प्रस्तावमा प्राप्त सुझावहरूको संकलनपछि आगामी महाधिवेशन र निर्वाचन रणनीति निर्धारणतर्फ आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।