समाचार

निर्वाचन आयोगको १९औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, आगामी निर्वाचन सफल हुने विश्वास

निर्वाचन आयोगको १९औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश, आगामी निर्वाचन सफल हुने विश्वास

निर्वाचन आयोग, नेपालले आर्थिक वर्ष २०८१/८२ का प्रमुख कार्य, कारबाही र उपलब्धि समेटिएको आफ्नो १९औँ वार्षिक प्रतिवेदन शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमार्फत राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन्।

राष्ट्रपतिले सो अवसरमा आयोगले गत आर्थिक वर्षमा गरेको कार्यको प्रशंसा गर्दै लोकतान्त्रिक अभ्यास सुदृढ गर्न योगदानका लागि धन्यवाद व्यक्त गरे। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न हुने विश्वास पनि व्यक्त गरे।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिवेदनमार्फत आयोगले सो अवधिमा मतदाता नामावली दर्ता र अद्यावधिक, स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन, मतदाता शिक्षा तथा तालिम कार्यक्रम सञ्चालन, राजनीतिक दल दर्ता र नवीकरण लगायतका कार्य सम्पन्न गरेको जानकारी दिए। उनका अनुसार आयोगले कानूनी, संस्थागत र प्रणालीगत सुधारका लागि चौथो पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

भण्डारीले प्रतिनिधि सभा निर्वाचन, २०८२ का तयारीहरू अघि बढाइएका र यसमा राजनीतिक दलहरू तथा सरोकारवालाको सहकार्य हुनेमा आयोग आशावादी रहेको बताए।

आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार, कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा, आयोगका सचिव महादेव पन्थ, राष्ट्रपतिका विज्ञ सल्लाहकारहरू तथा सचिव डा. दीपक काफ्ले उपस्थित थिए।

निर्वाचन आयोगले प्रत्येक वर्ष जस्तै यसपटक पनि आफ्नो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्दै आगामी निर्वाचन तयारीलाई सुशासन र पारदर्शिताका आधारमा सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ। लोकतान्त्रिक अभ्यासको आधारस्तम्भका रूपमा आयोगको भूमिकाले आगामी निर्वाचनप्रति जनविश्वास बढाउने अपेक्षा गरिएको छ।