एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि पोखरामा, प्रतिनिधि सभा पुनर्स्थापनाको माग!

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले महाधिवेशनले नयाँ नेतृत्व चयनसहित पार्टीको संगठनात्मक पुनर्गठन गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार केन्द्रीय कमिटी बैठकले २२ वटा प्रस्ताव पारित गरेको छ। बैठकले मुलुकको राजनीतिक दिशाबारे समेत विस्तृत छलफल गर्दै हालको सरकारले निर्वाचन गराउने म्यान्डेट पाएको भए पनि त्यसतर्फ गम्भीर ध्यान नदिएको निष्कर्ष निकालेको छ। गौतमले भने, “सरकार निर्वाचनको तयारीभन्दा पनि अनिर्वाचित रूपमा सत्ताको आयु लम्ब्याउने प्रयत्नमा देखिन्छ। प्रमुख दलहरूसँग परामर्श वा सहकार्यको इच्छासमेत देखिएको छैन।”
बैठकले मुलुकलाई पुनः लोकतान्त्रिक अभ्यासको बाटोमा फर्काउन प्रतिनिधि सभा पुनर्स्थापना आवश्यक रहेको निष्कर्ष निकालेको छ। बैठकमा प्रस्तुत प्रस्तावअनुसार, “निर्वाचन हुन नसक्ने र प्रतिनिधि सभा कायम नहुने अवस्थाले राजनीतिक रिक्तता र अस्थिरता निम्त्याएको छ, त्यसैले असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ।”
बैठकमा उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिनिधि सभाको पुनर्स्थापनालाई पार्टीको मुख्य राजनीतिक अभियानका रूपमा अघि बढाउनुपर्ने राय राखे, जसलाई अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले समर्थन गरेकी थिइन्।
तीन दिन ललितपुरमा चलेको बैठकले महाधिवेशन तयारीका लागि उपसमिति गठन गर्ने, संगठन विस्तार र सदस्यता अद्यावधिकलाई प्राथमिकता दिने पनि निर्णय गरेको एमाले स्रोतले जनाएको छ।
पोखरामा हुने महाधिवेशन पार्टीको नेतृत्व परिवर्तन र आगामी राजनीतिक रणनीतिलाई पुनः परिभाषित गर्ने प्रमुख मञ्चका रूपमा हेरिएको छ। पार्टीभित्रका नेताहरूले यसलाई “संगठनात्मक पुनर्जागरण र नेतृत्व पुस्तान्तरणको अवसर”को रूपमा लिएका छन्, जसले आगामी निर्वाचन र सत्ता समीकरणमा एमालेको भूमिका स्पष्ट पार्ने अपेक्षा गरिएको छ।