समाचार

नेपाल टेलिकमको मोबाइल सेवा अब तिलिचो र च्छो–रोल्पासम्म, दुर्गम हिमाली क्षेत्रमा नेटवर्क विस्तार

नेपाल टेलिकमको मोबाइल सेवा अब तिलिचो र च्छो–रोल्पासम्म, दुर्गम हिमाली क्षेत्रमा नेटवर्क विस्तार

नेपाल टेलिकमले मनाङ र दोलखाका दुर्गम पर्यटकीय क्षेत्रहरूमा नयाँ दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मनाङ जिल्लाको प्रसिद्ध तिलिचो बेस क्याम्पमा ४,३५० मिटर उचाइमा नयाँ बीटीएस (बेस ट्रान्ससीभर स्टेसन) स्थापना गरी जीएसएम र एनटीडब्ल्यू मोबाइल सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

नेपाल टेलिकमका अनुसार उक्त सेवा माइक्रोवेभ प्रविधिमार्फत सञ्चालन गरिएको हो, जसले खाङसार–श्रीखर्क–तिलिचो बेस क्याम्प हुँदै तिलिचो ताल क्षेत्रका स्थानीय बासिन्दा, पर्यटक तथा व्यवसायीहरूलाई सञ्चार सम्पर्कमा सहजता ल्याउनेछ। विज्ञप्तिमा जनाइए अनुसार यस सुविधाले स्थानीय होटल व्यवसायीहरूलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन पनि सहयोग गर्नेछ।

कम्पनीले उल्लेख गरेको छ कि उच्च हिमाली भूभाग र प्रतिकूल मौसमका कारण सञ्चार पूर्वाधार स्थापना चुनौतीपूर्ण भए पनि, तिलिचो क्षेत्रका पदयात्री र पर्यटकका लागि अब स्वास्थ्य आपत्कालीन उद्धार कार्यमा नेपाल टेलिकमको नेटवर्कले महत्वपूर्ण भूमिका खेल्नेछ।

यस्तै, दोलखाको च्छो–रोल्पा ट्रेकिङ मार्गमा पर्ने नागाउँमा पनि असोज २८ गतेदेखि भ्वाइस सेवा सुरु गरिएको छ। ४,१९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो–रोल्पा, दूधकुण्ड, बेदिङ, यालुङ बेसक्याम्प र टासी लेप्चा पास बेसक्याम्पसम्मका क्षेत्रमा सञ्चार सेवा विस्तार भएको कम्पनीले जनाएको छ।

नेपाल टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार दुर्गम हिमाली क्षेत्रमा प्रविधि र जनशक्ति अभावका बीच कम्पनीका प्राविधिकहरूको अथक प्रयासले यी सेवाहरू सञ्चालन गर्न सम्भव भएको हो। उनका अनुसार टेलिकमले भौगोलिक कठिनाइ र मौसमजन्य जोखिमका बाबजुद देशभरका नागरिकलाई समान रूपमा दूरसञ्चार पहुँच उपलब्ध गराउने लक्ष्यलाई निरन्तर उच्च प्राथमिकतामा राख्दै आएको छ।

मनाङ र दोलखाका यी नयाँ साइटहरू सञ्चालनमा आएसँगै नेपालका प्रमुख हिमाली पर्यटन मार्गहरूमा सञ्चार पूर्वाधार सुदृढ भएका छन्, जसले स्थानीय जीवन, पर्यटन व्यवस्थापन र आपत्कालीन उद्धार प्रणालीमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।