तिहार नजिकिँदै माग बढ्दा मकवानपुरका किसानलाई सयपत्री फूल बेच्न भ्याइनभ्याई

तिहार नजिकिँदै जाँदा मकवानपुरका किसानहरूलाई सयपत्री फूलले बारीभरिको मेहनतको प्रतिफल दिन थालेको छ। स्थानीय बजारमा माग तीव्र बढेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३ का कृषक नारायण घिमिरेलाई अहिले फूल बेच्न भ्याइनभ्याई भएको छ। हेटौँडा उपमहानगरपालिका, बकैया, बागमतीदेखि ललितपुरसम्मका व्यापारीहरू घिमिरेको बारीमा पुगेर फूल खरिद गर्न थालेका छन्।
घिमिरेले गत वर्षदेखि तरकारी खेतीसँगै व्यावसायिक रूपमा फूल खेती सुरु गरेका हुन्। यस वर्ष उनले तीन कठ्ठा क्षेत्रफलमा चितवनबाट ल्याइएका करिब २५ सय बिरुवा लगाएका थिए। टेनिस बल प्रजातिको सयपत्री र मखमली फूल अहिले राम्रोसँग फुल्न थालेपछि बजारमा बिक्री सुरु भएको छ।
उनी अहिले सयपत्री माला प्रतिगोटा एक सयदेखि एक सय २० रुपैयाँ र फूल प्रतिकेजी पाँच सय रुपैयाँका दरले बिक्री गर्दै आएका छन्। “अहिले बजारको समस्या छैन, माग पूर्तिमा नै समस्या भइरहेको छ,” घिमिरे भन्छन्, “कतिपय ग्राहकहरू त बारीमै आइपुग्छन्।”
घिमिरेले तिहारका साथै सामाजिक तथा धार्मिक कार्यक्रमका लागि पनि फूलको माग बढेको बताउँछन्। अहिले सम्म दस हजार रुपैयाँभन्दा बढीको फूल बिक्री गरिसकेका उनले आगामी एकादशीसम्म डेढ लाख रुपैयाँसम्मको आम्दानी हुने अनुमान गरेका छन्।
स्थानीय तहहरूले हाल प्लास्टिकका र बाहिरबाट आयात हुने कृत्रिम फूलमा प्रतिबन्ध लगाएको निर्णयपछि स्थानीय उत्पादनले बजारमा थप स्थान पाएको छ। यसले हेटौँडा, मनहरी र बकैया क्षेत्रका किसानहरूलाई फूल खेतीमा आकर्षित गरेको स्थानीय कृषकहरू बताउँछन्।
स्थानीय उत्पादनले बजार ओगट्न थालेसँगै आयातित फूलको प्रयोग घट्दै गएको देखिन्छ। यस वर्षको तिहारले गाउँस्तरमा उत्पादनमा आधारित आर्थिक सन्देश दिएको छ—जहाँ परिश्रम र मौलिक उत्पादनको मूल्य पहिचान हुँदैछ।