समाचार

स्याङ्जामा राति ९ बजेपछि देउसी–भैलो खेल्न प्रतिबन्ध, प्रशासनले जारी गर्‍यो कडा निर्देश

स्याङ्जामा राति ९ बजेपछि देउसी–भैलो खेल्न प्रतिबन्ध, प्रशासनले जारी गर्‍यो कडा निर्देश

स्याङ्जा जिल्ला प्रशासन कार्यालयले यस वर्षको तिहारमा राति ९ बजेपछि देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ। प्रशासनले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा शान्ति–सुरक्षा र सामाजिक मर्यादा कायम राख्दै सांस्कृतिक गतिविधि निर्धारित समयभित्र मात्र सञ्चालन गर्न आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जारी गरेको नौ बुँदे सचेतना अपिलमा देउसी–भैलो, नाचगानजस्ता सांस्कृतिक कार्यक्रम धर्म, संस्कृतिमा ठेस नपुग्ने गरी मर्यादित रूपमा राति ९ बजेसम्म मात्र गर्न अनुरोध गरिएको छ। उनले राति पछि हुने होहल्ला, आतसबाजी, वा अशान्ति सिर्जना गर्ने गतिविधि तुरुन्त रोकिने चेतावनी पनि दिएका छन्।

पर्वको भीडभाडका बीच सार्वजनिक यातायात र सवारी सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ। विज्ञप्तिमा सवारीसाधनको छतमा झुण्डिएर यात्रा नगर्न, यात्रुबाट बढी भाडा असुल्नेलाई तत्काल कारबाही गरिने चेतावनी दिइएको छ। साथै, विद्युत् र मैनबत्तीजस्ता सामग्रीको प्रयोग गर्दा सावधानी अपनाउन, सम्भावित आगलागीमा तुरुन्त सुरक्षा निकायलाई खबर गर्न र मादक पदार्थ सेवनपछि होहल्ला वा झगडा नगर्न पनि अनुरोध गरिएको छ।

प्रशासनले दीपावलीको समयमा पटाका, आतसबाजी र भुईँचम्पाजस्ता विस्फोटक सामग्रीको बिक्री–वितरण वा प्रयोग नगर्न कडाइका साथ निर्देशन दिएको छ। यस्ता वस्तु अवैध रूपमा भित्र्याउने वा व्यापार गर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

त्यस्तै, अखाद्यवस्तु, कृत्रिम रङ मिसाइएका मिठाइ र म्याद गुज्रेका मसला बिक्री नगर्न तथा प्लास्टिकका फूलमाला प्रयोग नगर्न अनुरोध गरिएको छ। विज्ञप्तिमा जुवाजन्य खेल, कृत्रिम अभाव सिर्जना, कालोबजारी र अवैध कारोबारमा संलग्न हुनेहरूलाई नियन्त्रणमा लिने उल्लेख गरिएको छ।

स्याङ्जा प्रशासनले सबैलाई जिम्मेवार नागरिकको रूपमा तिहारलाई “शान्त, मर्यादित र सुरक्षामुखी” बनाउने आह्वान गरेको छ। स्थानीय प्रशासनको यो निर्णयले धार्मिक परम्परा जोगाउँदै सामूहिक सुरक्षाको प्राथमिकतालाई बलियो सन्देश दिएको देखिन्छ।