गणपति सिमेन्ट पुनः बन्छ उद्योगको शक्ति: स्थानीय रोजगारी र स्वदेशी ब्रान्डमा नयाँ आशा

कपिलवस्तुको शिवराज–६ स्थित गणपति सिमेन्ट इन्डस्ट्रीज प्रालिमा नयाँ लगानीकर्ता समूह प्रवेशसँगै उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी तीव्र गतिमा अगाडि बढाइएको कम्पनीले जनाएको छ।
कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंको नेतृत्वमा बनेको उक्त समूहले लामो समयदेखि सीमित मात्रामा चलिरहेको उद्योगलाई पुनर्जीवित गर्ने उद्देश्य लिएको हो। चौलागाईंसँगै अमेरिका बसोबास गर्दै निर्माण र अन्य व्यवसायमा १५ वर्षदेखि संलग्न रहेका गैरआवासीय नेपाली (एनआरएन) वसिम पाण्डे र नेपालमै विभिन्न पेशा–व्यवसायमा सक्रिय शालिक पाठकले पनि सहकार्य सुरु गरेका छन्। कम्पनीका अनुसार, नयाँ लगानी र व्यवस्थापनको संयोजनले उत्पादन र बजार दुवै क्षेत्रमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।
अध्यक्ष चौलागाईंले प्रेस विज्ञप्तिमा भनेका छन्, “नेपालको निर्माण र पूर्वाधार विकासमा चुनौती भए पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याई देशको विकासमा योगदान पुर्याउने दृढ संकल्प लिएका छौँ। नयाँ लगानीकर्तासँगको सहकार्यले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी सिर्जना र स्वदेशी ब्रान्डको सुदृढीकरणमा मद्दत पुर्याउनेछ।”
हाल उद्योगले “गणपति” र “वनायक” नामका नयाँ सिमेन्ट ब्रान्ड उत्पादन गर्ने तयारी गरिरहेको छ। कम्पनीले निकट भविष्यमा यी उत्पादनहरूलाई देशका प्रमुख शहरहरूमा बजार विस्तार गर्ने योजना बनाएको जनाएको छ।
गणपति सिमेन्ट इन्डस्ट्रीज विगत केही वर्षदेखि सीमित उत्पादन क्षमतामा सञ्चालनमा रहेको थियो। नयाँ लगानी समूहको आगमनसँगै उद्योगको पूर्वाधार मर्मत, प्राविधिक आधुनिकीकरण, र स्थानीय जनशक्तिको पुनःसमायोजनको काम सुरु गरिएको कम्पनी स्रोतले जनाएको छ।
कम्पनीको विश्वास अनुसार पुनः सञ्चालनले कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सृजना गर्नेछ र स्थानीय उत्पादन प्रवर्द्धनमा योगदान पुर्याउनेछ। साथै, स्वदेशी सिमेन्ट उद्योगहरूको सुदृढीकरणले निर्माण क्षेत्रको आयात निर्भरता घटाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्योगले आगामी चरणमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दीर्घकालीन बजार सञ्जाल निर्माणलाई प्राथमिकतामा राख्ने योजनासमेत सार्वजनिक गरेको छ— जसले सिमेन्ट उद्योगमा नयाँ प्रतिस्पर्धात्मक धार ल्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।