पोखराले तिहारका सयपत्री र मखमलीमा गर्यो आत्मनिर्भरता!

पोखरामा यस वर्षको तिहार विशेष रूपमा रंगीन बन्न लागेको छ । दशकअघिसम्म तिहारका लागि सयपत्री र मखमली फूलको ठूलो हिस्सा भारतबाट आयात गर्नुपर्दै आएको पोखरा अहिले आफ्नै उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । शनिबारदेखि सुरु भएको तिहार पर्वका लागि पोखराका किसानहरूले उत्पादन गरेको फूलले स्थानीय माग पूरा गर्ने अवस्था बनाएको अधिकारीहरूले बताएका छन्।
पोखरा महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार अहिले महानगरका तीन सयभन्दा बढी किसान फूल खेतीमा संलग्न छन् । करिब तीन सय रोपनी जमिनमा फूल खेती भइरहेको छ । स्थानीय सरकारले प्रविधि, बिउ, अनुदान र बजार व्यवस्थापनमा गरेको सहायताले किसानहरू उत्साहित बनेका छन् ।
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (कास्की) का अध्यक्ष श्रीराम सुवेदीका अनुसार, “यो वर्ष तिहारका लागि आवश्यक सयपत्री र मखमली फूल पोखराकै उत्पादनले धान्छ । उत्पादन राम्रो भएको छ र व्यवसायीहरू उत्साहित छन्।” सुवेदीले यस वर्ष चार करोड रुपैयाँभन्दा बढीको फूल कारोबार हुने अनुमान गर्नुभएको छ।
महानगरले फूल खेतीमा प्रोत्साहनका रूपमा किसानलाई बिउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान दिएको छ । साथै, बजारमा बिक्री नभए किसान निराश नहून् भनेर समर्थन मूल्य तोक्ने र बिक्री नभए क्षतिपूर्ति दिने नीति पनि लागू गरिएको छ ।
आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, फूलको मूल्य यसपटक थुँगाको तौलका आधारमा निर्धारण गरिएको छ । १५ देखि २० ग्रामसम्मका ठूलो थुँगा पाँच रुपैयाँ, १० देखि १५ ग्रामका चार रुपैयाँ र साना थुँगा दुई रुपैयाँमा तोकिएको छ । ठूला थुँगाबाट बनेको माला १५० रुपैयाँ, मध्यम माला १३० र साना माला १०० रुपैयाँमा बिक्री हुने व्यवस्था गरिएको छ ।
महानगरले यस वर्ष २५ भन्दा बढी बिक्री स्थल तोकेको छ, जसमा बगर, संगमचोक, नदीपुर, काहुँ चौतारी, सभागृह, बेगनासताल, बिरौटा, हेमजा मिलनचोक, बुढीबजार र तालचोक जस्ता क्षेत्र समावेश छन्। कात्तिक ३ देखि ५ गतेसम्म यी स्थानमा फूलको कारोबार हुने तय भएको छ । साथै, महानगरले प्लास्टिकका फूलमा प्रतिबन्ध लगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिएको छ ।
पोखराको फूल आत्मनिर्भरता केवल आर्थिक सफलता होइन, सांस्कृतिक आत्मविश्वासको संकेत पनि हो । स्थानीय मेहनत, सहकार्य र नीतिगत समर्थनले यसपालिको तिहारमा पोखरालाई फूलको शहरका रूपमा उज्यालो पार्ने अपेक्षा गरिएको छ ।