समाचार राजनीति

प्रचण्डको भनाइ-“देश असामान्य अवस्थाबाट गुज्रिँदै,रूपान्तरण र जिम्मेवारी अब माओवादीको काँधमा”

प्रचण्डको भनाइ-“देश असामान्य अवस्थाबाट गुज्रिँदै,रूपान्तरण र जिम्मेवारी अब माओवादीको काँधमा”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक अवस्था असामान्य र जटिल रहेको बताउँदै यस्ता परिस्थितिमा पार्टीको जिम्मेवारी थपिएको टिप्पणी गर्नुभएको छ।

ललितपुर महानगरपालिकाको आयोजनामा महालक्ष्मीस्थानमा आयोजित नेपाल संवत् ११४६ को शुभकामना आदान–प्रदान, चियापान तथा भेटघाट कार्यक्रममा प्रचण्डले हालको चुनौतीपूर्ण राजनीतिक परिवेशमा पार्टीले “१० बुँदे मार्गदर्शन” जारी गरेर रूपान्तरण र एकताको दिशा देखाएको बताउनुभयो। उहाँका अनुसार, जनजी आन्दोलनले राज्यप्रतिको असन्तुष्टि र सुधारको चाहना प्रकट गरे पनि त्यसपछि देखिएका अराजक प्रवृत्तिले राज्य व्यवस्थाको स्थायित्वमा गम्भीर प्रश्न उठाएको हो।

प्रचण्डले भन्नुभयो, “भदौ २३ गते जनजीले भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठायो, त्यो सन्देश हामीले ग्रहण गर्नुपर्छ। तर भदौ २४ गतेको घटनाले कस्तो खतरनाक ढङ्गले गलत प्रवृत्ति विकास हुँदैछ भन्ने चेतावनी पनि दियो। त्यसपछि हामीले देशमा राज्यविहीनताको स्थिति रोक्न भूमिका खेल्यौँ।”

उहाँले जनजी आन्दोलनका धेरै मागहरू माओवादी आन्दोलनका मूल एजेन्डासँग मेल खाने बताएका छन्। “युवाको चाहना र भावनाअनुसार रूपान्तरण गर्न सक्ने पार्टी माओवादी हो,” उहाँले जोड दिनुभयो, “हामी ती युवासँग संवादमा छौँ, संविधान संशोधन र समावेशी सुधारका विषयमा उनीहरूसँग सहमति खोज्दैछौँ।”

प्रचण्डले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई आगामी राजनीतिक रूपान्तरणका प्रमुख दिशाका रूपमा अघि सारेका छन्। उहाँले भने, “लेनिनका शब्दमा क्रान्तिकारीहरूले गल्ती स्वीकार गर्छन्, प्रतिक्रान्तिहरूले गर्दैनन्। आज हामीले जनताको नेतृत्व गर्ने पार्टीका रूपमा फेरि आत्मसमीक्षा र पुनर्जागरण गर्नुपर्ने समय आएको छ।”

साथै, उहाँले पूर्वसभामुख कृष्णबहादुर महरामाथि भइरहेका राजनीतिक टिप्पणीलाई षड्यन्त्रपूर्ण भन्दै “पार्टी नेतृत्वका विषयमा बाह्य टिप्पणी होइन, पार्टी सदस्यहरूको लोकतान्त्रिक निर्णय नै निर्णायक हुन्छ” भन्ने स्पष्ट सन्देश दिनुभयो।

कार्यक्रममा सहभागी पूर्वमन्त्री पम्फा भुसालले संविधानले जनताको अधिकारलाई सुनिश्चित गरेको र जेन–जि आन्दोलनले उठाएका सुशासनका माग त्यसकै आत्मा भित्र समाहित गर्नुपर्ने बताउनुभयो। उहाँका अनुसार, राष्ट्रपतिले आन्दोलनको बीचमा संविधान र व्यवस्थाको रक्षा गर्न निर्णायक भूमिका खेलेका थिए।

त्यस्तै, ललितपुर महानगर इन्चार्ज राजकाजी महर्जनले पार्टीलाई नयाँ जिम्मेवारी र राजनीतिक सोचसहित तल्लो तहसम्म सक्रिय बनाउने तयारीमा रहेको बताए। महानगर समितिका अध्यक्ष रवीन्द्र महर्जनले माओवादी केन्द्रलाई समुदायस्तरमा पुनःस्थापित गर्दै जनभावनासँग नजिक पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

नेपालको राजनीति पुनः संक्रमणको घुम्तीमा उभिँदै गर्दा माओवादी नेतृत्वले युवासँग संवाद र संरचनागत रूपान्तरणलाई प्राथमिकतामा राख्ने घोषणा गरेको छ — जसले देशको राजनीतिक दिशा फेरि निर्णायक मोडतर्फ लैजाने संकेत गरेको छ।