वराहक्षेत्र चतराधामबाट १५ दिने बृहत्तर पदयात्रा सुरु, धार्मिक र सांस्कृतिक जगेर्नामा जोड!

धार्मिक नगरी वराहक्षेत्र चतराधामबाट यस वर्षको “बृहत्तर वराहक्षेत्र पदयात्रा” कात्तिक १ गतेबाट सुरु भएको छ। जगतगुरु बालसन्त मोहनसरण देवाचार्यको नेतृत्वमा सुरु भएको यस पदयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
जगतगुरु बालसन्तका अनुसार, पदयात्रा वराहक्षेत्र क्षेत्रअन्तर्गतका प्रमुख मठ–मन्दिर र तीर्थस्थलहरू उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अभियान हो। २०८० सालमा सुरु गरिएको यो परिक्रमा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।
कुम्भस्थल चतराधामबाट सुरु भएको १५ दिने पदयात्राले सुनसरी, उदयपुर र धनकुटा जिल्लाका धार्मिक स्थलहरूको परिक्रमा गर्नेछ। पहिलो दिन श्रद्धालुहरूले चतराधाम क्षेत्रबाट सप्तकोसी नदी पार गरी उदयपुरको बेलका नगरपालिका–स्थित महाङ्काल भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि कोसी किनारमा रहेको कोसोप्पा गङ्गा र मैनामैनीमा अवस्थित मैनाकुट पर्वत तथा मैनादेवी भगवतीको दर्शन गर्ने व्यवस्था गरिएको छ।
पदयात्रा क्रमशः त्रिवेणीधाम, सफाइटारको कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्तिधाम, बेलहरा, सागुरीगढी, नमस्ते झरना र कार्कीछाप भेडेटार हुँदै धरान पुग्नेछ। धरानमा पदयात्रीहरूले शिवजट्टाधाम, वसुधाराधाम, बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिरमा दर्शन गर्नेछन्।
धरानपछि यात्रा तरहराबाट इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिरसम्म पुग्नेछ। त्यसपछि सुनसरीकै रामपुरा, मानपुर सिङ्घिया हुँदै रामधुनी मन्दिरको परिक्रमा गरेर प्रकाशपुर, राजाबास र सालबनी हुँदै शक्ररुद्र तीर्थ पुग्ने र अन्ततः वराह भगवानको गर्भगृहमा दर्शन गरेर पदयात्रा सम्पन्न हुने जनाइएको छ।
जगतगुरु बालसन्त मोहनसरणका अनुसार, बृहत्तर वराहक्षेत्र पदयात्रा केवल धार्मिक यात्रा होइन, सम्पूर्ण पहाडी–तराई सांस्कृतिक सम्पर्क र सहअस्तित्वको प्रतीक हो। स्थानीय समुदाय, मठ–मन्दिर र भक्तजनहरूको सक्रिय सहभागिताले यस वर्ष पनि यात्रा भव्य रूपमा सम्पन्न हुने विश्वास गरिएको छ।