समाचार

जलेको शववाहन पुनः सञ्चालनमा, हेटौँडाले सुरु गर्‍यो निःशुल्क सेवा

जलेको शववाहन पुनः सञ्चालनमा, हेटौँडाले सुरु गर्‍यो निःशुल्क सेवा

हेटौँडा उपमहानगरपालिकाले जनताको अत्यावश्यक आवश्यकता र मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै निःशुल्क शववाहन सेवा पुनः सञ्चालनमा ल्याएको छ। भदौ २४ गतेको जेन–जि आन्दोलनका क्रममा आगजनीबाट जलेर पूर्ण रूपमा क्षति पुगेको शववाहन करिब दुई महिना पछि बुधबारदेखि फेरि सञ्चालनमा आएको हो।

उपमहानगरपालिकाले करिब २३ लाख रुपैयाँमा खरिद गरेको शववाहन जलेर नष्ट भएपछि नगरवासीले शव दाहसंस्कारका लागि सागरसम्म शव लैजान कठिनाइ भोग्दै आएका थिए। अब नयाँ व्यवस्थासँगै नगरवासीले निःशुल्क रूपमा यो सेवा पाउने भएका छन्।

नगरप्रमुख मीनाकुमारी लामाले उक्त सेवा पुनः सञ्चालन भएको जानकारी दिँदै सामाजिक सञ्जालमार्फत आफ्नो भावनात्मक प्रतिक्रिया व्यक्त गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, “गत भदौ २४ गतेको आन्दोलनमा शववाहन पनि जलाइयो भन्ने सुनेपछि म निकै रोएकी थिएँ। आफ्नै घरमा आगलागी हुँदा पनि त्यस्तो पीडा लागेको थिएन, तर नागरिकको अन्तिम यात्रामा सघाउने गाडी खरानी भएको सुन्दा मन भारी भयो।”

लामाका अनुसार उपमहानगरपालिकाको कार्यालयदेखि लिएर सार्वजनिक सम्पत्तिसम्म आगजनीबाट नोक्सान पुगे पनि सेवा निरन्तरता दिनु अहिलेको प्रमुख जिम्मेवारी हो। उहाँले भन्नुभयो, “जीवनको सबैभन्दा दुःखद क्षणमा शववाहनको अभावले नगरवासीलाई सास्ती होस् भन्ने मैले सहन सकिनँ, त्यसैले तत्काल नयाँ गाडीको व्यवस्था गरियो।”

नयाँ शववाहन सञ्चालनसँगै हेटौँडा उपमहानगरपालिकाका सबै १९ वडामा निःशुल्क सेवा विस्तार गरिएको छ। यस सेवाले नगरभित्र मात्र नभई आसपासका गाउँ र नगरबाट पनि शव ल्याउने–लैजाने कार्य सहज बनाउने अपेक्षा गरिएको छ।

जेन–जि आन्दोलनका क्रममा जलेका संरचना र सेवाहरू क्रमशः पुनःस्थापना हुँदै गर्दा हेटौँडाको यो कदम स्थानीय तहको दायित्व र संवेदनशीलता प्रष्ट पार्ने उदाहरण बनेको छ- विपत्तिले छोएको नगर पुनः सेवाभावले उठ्दैछ भन्ने सन्देशसहित।