समाचार राजनीति

निर्वाचनको वातावरण बने कांग्रेस तयार छ : कार्यवाहक सभापति पूर्णबहादुर खड्का

निर्वाचनको वातावरण बने कांग्रेस तयार छ : कार्यवाहक सभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण तयार गरे कांग्रेस चुनावमा सहभागी हुन तयार रहेको बताएका छन्। मंगलबार सुर्खेतमा आयोजित पूर्व सभापति गोविन्द बहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले भने, “चुनावका लागि बन्नुपर्ने सबै वातावरण बन्दा नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी चुनावमा जान तयार छ, तर अहिले सरकारले त्यसतर्फ ठोस पहल गरेको छैन।”

खड्काले अहिले सरकार चुनावको पूर्वतयारीभन्दा बढी विपक्षी नेताहरूलाई लक्षित गरेर भ्रम फैलाउने र आरोप–प्रत्यारोप गर्ने काममा व्यस्त रहेको आरोप लगाए। उनले भने, “सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले भ्रम सृजना गर्ने, लाञ्छना लगाउने कार्य गरिरहेका छन्, जसले राजनीतिक अन्योल थपिएको छ।”

उनका अनुसार, यदि सरकारले साँच्चिकै निर्वाचन गराउने इच्छाशक्ति राखेको हो भने जेन–जि आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गराउन, प्रहरी तथा सुरक्षा निकायको मनोबल बढाउन, राजनीतिक दलहरूबीच आपसी विश्वास कायम गर्न र आम मतदातामा सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक कदम चाल्नुपर्छ।

कार्यवाहक सभापति खड्काले पार्टी कुनै पनि कानुनी प्रक्रिया वा छानबिनबाट डराउने पक्षमा नरहेको स्पष्ट पार्दै भने, “हामी छानबिन र अनुसन्धानका लागि खुला छौँ, तर राजनीतिक प्रतिशोधका रूपमा हुने कार्य अस्वीकार्य छन्।”

उनले नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकले आगामी निर्वाचन, पार्टीको अधिवेशन र समसामयिक राजनीतिक अवस्थाबारे आधिकारिक निर्णय लिने तयारी गरेको पनि जानकारी दिए।

देशमा जेन–जि आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरता र नेतृत्वप्रतिको अविश्वासका बीच खड्काको वक्तव्यले प्रमुख दलहरूबीच आपसी विश्वास र सहकार्यको आवश्यकता पुनः उजागर गरेको छ — चुनावमात्र होइन, स्थायित्वकै पूर्वशर्त यही संवाद र पारदर्शिता हुने संकेत गर्दै।