मन्त्री कुलमान घिसिङले सडक खोल्ने र पुनर्निर्माण प्राथमिकता दिने घोषणा गरे

अविरल वर्षापछि देशका विभिन्न भागमा सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भइरहेका बेला ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तत्काल सडक पुनः सञ्चालन र पुनर्निर्माणमा सरकार तयार रहेको बताएका छन्। दुई दिनदेखिको अविरल वर्षापछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले “सडक खोल्ने तयारी अन्तिम चरणमा पुगेको” जानकारी दिएका हुन्।
उनका अनुसार, समयमै सतर्कता अपनाइएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिन सकियो। “बाढी र पहिरोले केही ठाउँमा ठूलो भौतिक क्षति पु¥याए पनि जनधनको क्षति न्यून छ,” उनले पत्रकार सम्मेलनमा भने। घिसिङले भौतिक क्षतिको मूल्याङ्कन भइरहेकाले पुनर्निर्माण र मर्मतलाई सरकारको तत्काल प्राथमिकता बनाइएको स्पष्ट पारे।
असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक र पुलहरूमा पहिरो, बाढी र कटानका घटना बढेका थिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रमुख तथा सहायक सडक अवरुद्ध हुँदा यातायात सेवामा ठूलो असर परेको उल्लेख छ। मन्त्रालयले घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन नागरिकलाई अनुरोध गरेको छ।
सडक विभागले अवरुद्ध सडक खोल्नका लागि आवश्यक जनशक्ति, मेसिनरी र स्रोतसाधन परिचालन गरिसकेको जनाएको छ। नारायणघाट–मुग्लिन सडकखण्डमा एकतर्फी सवारी सञ्चालन सुरु भएको छ भने पोखरा–मुग्लिन र भुलभुले–बेसीशहर सडकखण्डमा पनि मर्मत कार्य तीव्र पारिएको छ। विभागले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्थानीय निकायसँग समन्वय गरेर सडक खुलाउने कार्य अघि बढाइरहेको छ।
मन्त्रालयले नागरिकलाई नवीनतम जानकारीका लागि सडक विभागको वेबसाइट वा स्थानीय प्रशासनमार्फत सूचना लिन आग्रह गरेको छ। मौसम अझै अस्थिर रहेको चेतावनीसँगै, सरकारले अबको ध्यान तत्कालीन उद्धारपछि पुनःस्थापनातर्फ केन्द्रित गर्ने तयारी गरेको जनाएको छ — जसले प्रभावित क्षेत्रका यातायात र पूर्वाधारलाई पुनः सामान्यतर्फ फर्काउने आशा जगाएको छ।