तीन प्रदेशका ३२ जलविद्युत आयोजना बाढी–पहिरोले प्रभावित!

असोज १७ देखि १९ गतेसम्मको भीषण वर्षाले देशका जलविद्युत् आयोजनामाथि व्यापक असर पारेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सोमबार दिउँसोसम्म संकलन गरेको प्रारम्भिक विवरण अनुसार तीन प्रदेशका १० जिल्लामा ३२ जलविद्युत् आयोजना बाढीपहिरोले प्रभावित भएका छन्। तीमध्ये सञ्चालनमा रहेका १७ आयोजना र निर्माणाधीन १५ आयोजना रहेका छन्, जसको कुल क्षमता क्रमशः १८० र ३३८ मेगावाट रहेको इप्पानले जनाएको छ।
सबैभन्दा बढी क्षति कोशी प्रदेशमा परेको छ, विशेषतः इलाम जिल्लामा। इलाममा मात्रै १५ जलविद्युत् आयोजनाको उत्पादन रोकिएको छ। तीमध्ये प्रमुख आयोजना सानिमा समूहद्वारा सञ्चालित २२ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, ९.९ मेगावाटको माथिल्लो माई, ९.६ मेगावाटको सुपर माई ए, र ९.५ मेगावाटको माईबेनी जलविद्युत् आयोजना हुन्। यस्तै, माई सी क्यासकेड, जोगमाई खोला, सुपर माई, पुवा र अपर पुवा आयोजनाहरू पनि बन्द अवस्थामा छन्। पाँचथरको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशको ५२.४ मेगावाट क्षमताको लिखु–४ आयोजना पनि प्रभावित भएका छन्। लिखु–४ को उत्पादन करिब एक घण्टाभन्दा बढी समय मात्र रोकिएको भए पनि अन्य अधिकांश आयोजना अझै सञ्चालनमा फर्किएका छैनन्।
इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार यस वर्ष बाढी–पहिरोको पूर्वसूचना प्रणाली प्रभावकारी बनेकोले ठूलो जनधनको क्षति हुनबाट बच्न सकिएको हो। “जल तथा मौसम विज्ञान विभागसँगको सूचनाआदान–प्रदानको संयन्त्रले धेरै आयोजना समयमै सतर्क भएका थिए,” उनले बताए। कार्कीका अनुसार यसपटक वर्षा अत्यधिक भए पनि विगतका वर्षहरूभन्दा भौतिक क्षति उल्लेखनीय रूपमा कम छ।
निर्माणाधीन आयोजनाहरूमा क्षति प्रायः पहुँचमार्ग र पूर्वाधारमा केन्द्रित छ। मनाङको ४९.९५ मेगावाट क्षमताको दाना खोला आयोजनाले बनाएको १२ किलोमिटर लामो पहुँच सडक धेरै ठाउँमा पहिरोले बगाएको लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले बताए। “निर्माण सुरु भएको केही महिनामै बाटोको आधार सेट नहुँदा क्षति बढी भयो,” उनले भने।
इलामको सिद्धिखोला (१० मेगावाट) आयोजना, जुन १० दिनभित्र व्यावसायिक उत्पादनमा जानुपर्ने तयारीमा थियो, बाढीले क्षति पुर्याएपछि यसको उत्पादन मिति परिएको छ। पाँचथरका सभाखोला बी (२१.५ मेगावाट) र हेवाखोला (९.९ मेगावाट) आयोजनाको निर्माण सामाग्री र उपकरण बाढीले बगाएको छ। सिन्धुपाल्चोकमा रहेका ब्रम्हायणी, माथिल्लो ब्रम्हायणी, बलेफी र तल्लो बलेफी आयोजनाहरूको पहुँचमार्ग पनि ध्वस्त भएको छ।
यस्तै, रसुवाको लाङटाङ खोला (२० मेगावाट), भोजपुरको इर्खुवा खोला बी (१५.५ मेगावाट) र माथिल्लो इर्खुवा (१४.५ मेगावाट), म्याग्दीको माथिल्लो ठूलो खोला (२२.५ मेगावाट), लमजुङको हिडी खोला (६.८२ मेगावाट), रामेछापको खिम्ति–२ (४८.८ मेगावाट) र धादिङको गसाली खोला (४.५ मेगावाट) आयोजनाको पहुँचमार्ग र संरचना क्षतिग्रस्त भएको इप्पानले जनाएको छ।
प्रभावित आयोजनासम्म पुग्ने सडक अवरुद्ध भएकाले पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने बताइएको छ। तर ऊर्जा उत्पादकहरूले चेतावनी दिएका छन्—यदि अवरुद्ध मार्ग र संरचना चाँडै मर्मत भएन भने उत्पादन क्षमताको पुनर्स्थापना लामो समयसम्म प्रभावित रहन सक्छ। जलवायु अस्थिरतासँगै बारम्बार दोहोरिने यस्तो प्राकृतिक जोखिमले जलविद्युत् क्षेत्रमा दीर्घकालीन पूर्वाधार सुरक्षाको आवश्यकता झनै गहिरो बनाएको छ।