पश्चिम बंगालको दार्जिलिङमा भीषण वर्षापछि पहिरो, २३ जनाको मृत्यु र सयौं विस्थापित

भारतको पश्चिम बंगाल राज्यमा निरन्तर वर्षापछि आएको पहिरो र बाढीले व्यापक विनाश गरेको छ। सोमबारसम्म मृत्यु हुनेको संख्या २३ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्, जसमा धेरैजसो नेपालीभाषी रहेका छन्। स्थानीय प्रशासनका अनुसार मृतक संख्या अझै बढ्ने अनुमान छ, किनभने धेरैजना अझै बेपत्ता छन्।
दार्जिलिङ, मिरिक, खरसाङ र कालेम्बुङलगायतका पहाडी क्षेत्रहरूमा गएको एक दशकयताकै सबैभन्दा ठूलो पहिरोले सयौं घर ध्वस्त बनाएको र सडक, पुल र बिजुली संरचनामा ठूलो क्षति पुर्याएको छ। मिरिक र दुधिया बीचको फलामे पुल भत्किँदा आवागमन पूर्ण रूपमा ठप्प भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) र पश्चिम बंगालको दार्जिलिङ–जलपाइगुडी प्रशासनले संकलन गरेको प्रारम्भिक प्रतिवेदनअनुसार मानेभन्ज्याङ, सरसाली, जसबीर गाउँ, मिरिक बस्ती, धार गाउँ र जलपाइगुडीको नागरकाटा क्षेत्रमा सबैभन्दा बढी जनधनको क्षति भएको छ। भारतले नेपालको सिमानासँग जोडिएको मानेभन्ज्याङ क्षेत्रमा मृत्यु भएका पाँच नेपाली नागरिकलाई पनि यो सङ्ख्यामा समावेश गरेको बताइएको छ।
भारी वर्षा र पहिरोका कारण सयौं पर्यटक र स्थानीय बासिन्दा अलपत्र परेका छन्। दार्जिलिङको मिरिक क्षेत्रमा मात्र ४० भन्दा बढी गाउँलेहरूले घर गुमाएपछि सामुदायिक हलमा अस्थायी शिविरमा आश्रय लिएका छन्। प्रभावित गाउँका राजन क्षेत्रीले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, “हामीले सबथोक गुमायौं—घर, जग्गा, परिवारका सदस्यहरू सबै बाढीले बगायो।”
आइतबार मात्रै उद्धार टोलीहरूले विभिन्न बस्तीहरूबाट १६० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका थिए। स्थानीय प्रशासनले अझै केही बस्तीहरूमा उद्धार कार्य जारी रहेको जनाएको छ।
दार्जिलिङमा गएको यो विनाशकारी पहिरोको असर नेपालका सीमावर्ती क्षेत्र इलामसम्म फैलिएको छ, जहाँ यही मनसुन प्रणालीका कारण हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। लगातारको वर्षा र पहिरोले दुवै देशका पहाडी भेगमा मानविय क्षति र संरचनागत जोखिम बढाएकोले, मौसम स्थिर नभएसम्म सतर्कता उच्च राख्न अधिकारीहरूले आग्रह गरेका छन्।