बाजुराको कालाजग्रा धार्मिक स्थलमा देवीको मूर्ति स्थापना, पर्यटन प्रवर्द्धन र पूजा सहजतामा टेवा

बडीमालिका नगरपालिका–७ मा अवस्थित ऐतिहासिक र धार्मिक महत्त्व बोकेको कालाजग्रा क्षेत्रमा देवीको मूर्ति स्थापना गरिएको छ। हिमालको टुप्पोमा रहेको यो स्थान स्थानीय र तीर्थयात्री दुवैका लागि आस्था र प्राकृतिक सौन्दर्यको प्रतीक मानिन्छ।
स्थानीय रूपमा टाइगर हिलका नामले चिनिने कालाजग्रा क्षेत्रमा आइतबार औपचारिक रूपमा देवीको मूर्ति स्थापना गरिएको हो। बडीमालिका नगरपालिका–७ को आर्थिक सहयोग र स्थानीयवासीको सक्रियतामा सम्पन्न सो कार्यका लागि करिब ३ लाख ५० हजार रुपैयाँ खर्च भएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। उनका अनुसार मूर्ति धनगढीबाट खरिद गरिएको हो र यसको तौल ७५ देखि ८० केजीसम्म छ।
अध्यक्ष पाध्यायका अनुसार ढम्कने–कालाजग्रा पदमार्गमा धार्मिक र पर्यटकीय सन्देश लेख्ने कार्य पूरा गरेपछि मूर्ति स्थापना गरिएको हो। सोसँगै कालाजग्रामा भ्युटावर, पदमार्ग र पूर्वाधार सुधारका काम भइरहेको उनले बताए। “हामीले धार्मिक र पर्यटकीय सम्भावना दुवैलाई जोड्दै कालाजग्रालाई व्यवस्थित रूपमा विकसित गर्ने योजना बनाएका छौँ,” उनले भने।
३,२०० मिटर उचाइमा अवस्थित कालाजग्रा हिमालको टुप्पो दुई पहाडबीच सिंहको आकृतिमा देखिन्छ, जसलाई देवीको उत्पत्तिस्थल मानिन्छ। स्थानीय बासिन्दाले यस स्थानलाई “कालाजग्रा देवी”का नामले श्रद्धा व्यक्त गर्दै पूजाआजा गर्ने परम्परा चलाउँदै आएका छन्। हरेक वर्ष जनैपूर्णिमामा यहाँ विशेष पूजा–अर्चना गरिन्छ।
ढम्कनेका स्थानीय बासन्त रोकायका अनुसार मूर्ति स्थापना भएपछि दैनिक पूजा सजिलो हुने र भक्तजनहरूको आगमन बढ्ने अपेक्षा गरिएको छ। उनले भने, “यो केवल आस्थाको स्थल होइन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाको प्रतीक पनि हो। यसको प्रचार–प्रसारले बाजुराको पर्यटनमा नयाँ आयाम थप्नेछ।”
स्थानीयहरूका अनुसार कालाजग्रा देवीको पूजाले घरमा सुख, शान्ति, र समृद्धि ल्याउँछ भन्ने धार्मिक विश्वास रहेको छ। यस विश्वासले स्थानीय समुदायमा धार्मिक एकता र सामाजिक सहकार्यको भावना बलियो बनाएको देखिन्छ।
कालाजग्रा देवीको मूर्ति स्थापना कार्यले बाजुराको धार्मिक सम्पदा संरक्षण र पर्यटकीय पहिचान विस्तारमा नयाँ गति दिएको छ — जसले भविष्यमा यो क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने सम्भावना थप स्पष्ट बनाएको छ।