समाचार

बिपी राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं–मन्थली हवाई सेवा सञ्चालन गर्न माग

बिपी राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं–मन्थली हवाई सेवा सञ्चालन गर्न माग

अविरल वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएपछि रामेछापबाट काठमाडौं आवतजावत ठप्प भएको छ। सडक सम्पर्क विच्छेदले उत्पन्न भएको समस्याका बीच जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले तत्काल वैकल्पिक रूपमा काठमाडौं–मन्थली हवाइ सेवा नियमित सञ्चालन गर्न माग गरेको छ।

आइतबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सम्बन्धित एयरलाइन्स कम्पनीहरूलाई औपचारिक अनुरोध पठाउने निर्णय गरेको हो। समितिका अनुसार हवाई सेवा सञ्चालन भएमा काठमाडौं र रामेछापबीच अत्यावश्यक आवागमन सहज हुने र विपद्को बेला उद्धार तथा आपूर्ति सन्तुलनमा सहयोग पुग्नेछ।

हाल बिपी राजमार्गको सिन्धुली खण्डमा पहिरो र सडक कटानका कारण सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ। यात्रुहरूलाई दोलखाको चरिकोट हुँदै लामो परिक्रमा गरेर राजधानी पुग्नुपर्ने बाध्यता बनेको छ।

बैठकले मन्थली–सिन्धुली जोड्ने खुर्कोट पुलमा निगरानी बढाउन र सुरक्षाका कारण एकपटकमा एक सवारी मात्र पास हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै, जिल्लाभर लगातार वर्षा भइरहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न आग्रह गरिएको छ।

विपद् जोखिम बढ्दै गएपछि सडक डिभिजन, स्थानीय तह र पूर्वाधार विकास कार्यालयलाई एक्स्काभेटर, जेसिभी, ट्र्याक्टर र अन्य उपकरण तयारी अवस्थामा राख्न भनिएको छ। निरन्तर वर्षासँगै गड्याङगुडुङसहितको चट्याङ र पहिरोको जोखिम देखिएकाले समितिले घरबाहिर ननिस्कन र सावधानी अपनाउन समेत आग्रह गरेको छ।

बैठकले उद्धार र राहत कार्यमा स्थानीय निकाय, सुरक्षा निकाय, राजनीतिक दल, रेडक्रस, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था र सञ्चार माध्यमहरूको सहकार्यमा समन्वित पहल आवश्यक रहेको उल्लेख गरेको छ। निरन्तर वर्षा र अवरुद्ध मार्गका कारण रामेछाप हाल ‘आंशिक एकाकीपन’मा परेको छ, र हवाई विकल्प तत्काल सुरु हुन सके स्थानीय जीवन र आपूर्तिमा राहत पुग्ने अपेक्षा गरिएको छ।