राजनीति

बालेन र सुधनमाथि मुद्दा! अनेरास्ववियूले प्रमाणसहित जाहेरी दियो!

बालेन र सुधनमाथि मुद्दा! अनेरास्ववियूले प्रमाणसहित जाहेरी दियो!

 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपालका’ संस्थापक सुधन गुरुङविरुद्ध नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरूले प्रहरीमा औपचारिक जाहेरी दिएका छन्। मंगलबार अनेरास्ववियूका पूर्वअध्यक्ष समीक बडालको नेतृत्वमा टोली काठमाडौं प्रहरी परिसर पुगेर जाहेरी दर्ता गराएको हो।

बडालले आफूहरू कानूनी शासन र विधिको पक्षधर विद्यार्थी संगठनका रूपमा जिम्मेवार नागरिकको हैसियतले कदम चालेको बताए। उनले भने, “हामी कानूनी राज्यको पक्षधर संगठन हौं। सिंहदरबारमा आगजनी र तोडफोडजस्ता कार्यहरू कुनै पनि हालतमा स्वीकार्य छैनन्, त्यसैले प्रमाणसहित जाहेरी दिएका हौं।”

उनका अनुसार प्रहरी प्रशासनले जाहेरी दर्ता गरेर २४ घण्टाभित्र सरकारी वकिलसँग परामर्श गरी आवश्यक निर्णय लिने जनाएको छ। बडालले सो घटनालाई विधिको शासन र संवैधानिक उत्तरदायित्वको परीक्षणको रूपमा हेरिनुपर्ने बताए।

जाहेरीमा जेन–जेड आन्दोलनका क्रममा सिंहदरबारलगायत सरकारी संरचनामा भएको आगजनी, तोडफोड र अव्यवस्थित गतिविधिका सम्बन्धमा शाह र गुरुङको संलग्नता छानबिनको माग गरिएको छ।

काठमाडौं प्रहरी परिसरका अधिकारीहरूले जाहेरी दर्ता भएको पुष्टि गर्दै यस विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

जेन–जी आन्दोलनपछि सार्वजनिक सम्पत्ति नष्ट गर्ने र हिंसात्मक गतिविधिको घटनालाई लिएर कानुनी कारबाहीका माग तीव्र बन्दै जाँदा मेयर बालेन र नागरिक अभियन्ता सुधनविरुद्धको यो जाहेरीले राजनीतिक र कानुनी दुवै वृतमा नयाँ बहस सुरु गरेको छ—जहाँ जिम्मेवारी र अभिव्यक्तिस्वतन्त्रताको सीमारेखा फेरि एकपटक परीक्षणमा परेको देखिन्छ।