राजनीति

सिंहदरबार जलाउने म होइन! बालेन शाहको प्रतिउत्तर-प्रदर्शनकारीकै अवरोधले दमकल रोकिन्यो

सिंहदरबार जलाउने म होइन! बालेन शाहको प्रतिउत्तर-प्रदर्शनकारीकै अवरोधले दमकल रोकिन्यो

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगो समयमा नियन्त्रण गर्न महानगरको दमकल नपुगेको विषयमा उठेका आलोचनालाई अस्वीकार गरेका छन्। उनले आन्दोलनकारीहरूको अवरोधका कारण दमकलहरू निर्धारित समयमा घटनास्थलमा पुग्न नसकेको स्पष्ट पारेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरणमा मेयर शाहले भदौ २३ देखि २८ गतेसम्म महानगरका दमकलहरूले कुन कुन स्थानमा र कुन समयमा आगलागी नियन्त्रणका लागि काम गरे भन्ने सम्पूर्ण तथ्य सार्वजनिक गरेका छन्। उनले भने, “यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो? भन्ने प्रश्नहरू गलत बुझाइ र राजनीतिक प्रेरणाले फैलाइएका हुन्।”

शाहका अनुसार आन्दोलनका ती दुई दिनमा काठमाडौं महानगरको दमकल र उद्धार टोलीले ५५ भन्दा बढी स्थानमा आगलागी नियन्त्रणका लागि कार्य गरेको थियो। साथै, स्वास्थ्यकर्मीहरूको टोलीले घाइतेहरूको उपचारदेखि मृतकहरूको शव व्यवस्थापनसम्मको जिम्मेवारी पनि वहन गरेको उनले बताएका छन्।

सामाजिक सञ्जालमा केही दिनदेखि सिंहदरबारमा लागेको आगो नियन्त्रणमा ढिलाइ भएको विषयलाई लिएर बालेनमाथि आलोचना हुँदै आएको थियो। सो विषयमा प्रतिक्रिया दिँदै उनले भने, “दमकल र उद्धार टोली रातदिन खटिएको थियो। झुटो आरोप लगाएर कामप्रति समर्पित टोलीको मनोबल घटाउने प्रयास गरिएको छ।”

शाहले आफू जिम्मेवारीबाट नभाग्ने र आवश्यक परे जाँच र समीक्षा गर्न तयार रहेको बताएका छन्। उनका अनुसार आन्दोलनको भीड, सडक बन्द र सुरक्षात्मक घेराबन्दीका कारण दमकलहरू अघि बढ्न सकेनन्, जसले नियन्त्रणमा ढिलाइ ल्यायो।

जेन–जी आन्दोलनका घटनापछि सार्वजनिक सम्पत्ति क्षति र आगलागी नियन्त्रणको विषयमा राजनीतिक र सामाजिक बहस चलिरहेका बेला मेयर शाहको यो प्रतिक्रिया महानगरको तर्फबाट आएको पहिलो औपचारिक स्पष्टीकरणका रूपमा लिइएको छ—जहाँ उनले तथ्य र जिम्मेवारी दुवै अगाडि राख्दै आलोचनालाई प्रत्यक्ष जवाफ दिएका छन्।