राजनीति

पत्रकार किशोर श्रेष्ठको आरोपः ‘ज्ञानेन्द्र शाहीले १२ लाखको बाउन्स चेक अझै नतिरेको’

पत्रकार किशोर श्रेष्ठको आरोपः ‘ज्ञानेन्द्र शाहीले १२ लाखको बाउन्स चेक अझै नतिरेको’

काठमाडौं — वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीमाथि कालिमाटीका एक व्यवसायीलाई तिर्न बाँकी १२ लाख रुपैयाँको बाउन्स चेक सम्बन्धी विषयमा गम्भीर प्रश्न उठाएका छन्। उनले यो आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

श्रेष्ठले दशैंका बेला अन्तर्राष्ट्रिय संस्थागत जिम्मेवारीका कारण दुई सातादेखि देशबाहिर रहेको बताउँदै, आफ्नो अनुपस्थितिको मौका पारेर केही समूहहरूले जनआस्थामाथि आधारहीन आरोप लगाएको टिप्पणी गरेका छन्। उनले भने,

“एकाध सामग्रीको जग यथार्थपरक हुँदाहुँदै प्रस्तुतिमा केही कैफियत देखिएको हुनसक्छ तर सम्बन्धित सरोकारवालाले प्रकाशित समाचारमा रत्तिभर सत्यता छैन भनेर न लिखित न मौखिकरूपमा कतै पनि भन्न सकेका छैनन्।”

यही सन्दर्भमा उनले ज्ञानेन्द्र शाहीले कालिमाटीकी चामल साहुनीलाई तिर्न बाँकी १२ लाख रुपैयाँको बाउन्स चेक अहिलेसम्म नतिरेको आरोप सार्वजनिक गरे।

“ज्ञानेन्द्र शाहीजीले कालिमाटीकी चामल साहुनीलाई तिर्न बाँकी १२ लाखको बाउन्स चेक अहिलेसम्म के गर्नुभयो कुन्नी!” — श्रेष्ठले लेखे।

श्रेष्ठले आफ्नो स्टाटसमा जनआस्था अनलाइन टिम ‘सत्य र तथ्यमा आधारित मौलिक समाचार दिन सधैं सक्रिय’ रहेको भन्दै केही व्यक्तिले फेसबुकमा आफ्नो परिचय लुकाएर, प्रोफाइल लक गरेर अपमानजनक गालीगलौज गरेकोप्रति आक्रोश पनि पोखेका छन्। उनले लेखे,

“४५ वर्षको उमेरमा पति गुमाएर छ वर्षअघि बितेकी मेरी आमालाई समेत ‘राँडी’ भनेर गाली गर्नेहरूलाई कोटि कोटि प्रणाम।”

३८ वर्षदेखि पत्रकारितामा सक्रिय श्रेष्ठले यस्ता गालीगलौजलाई पनि ‘मार्गदर्शन’का रूपमा लिएको बताउँदै आलोचकहरूलाई ‘हाकाहाकी, सशरीर प्रकट भएर आलोचना गर्न’ चुनौती दिएका छन्।

ज्ञानेन्द्र शाहीतर्फ भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।


किशोर श्रेष्ठ