राजनीति

प्रधानमन्त्री सुशीला कार्कीको कूटनीतिक आदेश: ‘नेपालको सकारात्मक सन्देश विश्वभर पुर्‍याऔं!

प्रधानमन्त्री सुशीला कार्कीको कूटनीतिक आदेश: ‘नेपालको सकारात्मक सन्देश विश्वभर पुर्‍याऔं!

प्रधानमन्त्री सुशीला कार्कीले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको बदलिँदो राजनीतिक अवस्था र शान्तिपूर्ण संक्रमणलाई सकारात्मक रूपमा प्रस्तुत गर्न परराष्ट्र मन्त्रालय र विदेशस्थित सबै दूतावासलाई सक्रिय भूमिका निभाउन निर्देशन दिएकी छिन्। परराष्ट्रमन्त्रीको जिम्मेवारीसमेत समालेकी प्रधानमन्त्री कार्कीले बुधबार राजदूतहरूसँगको भर्चुअल बैठकमा नेपालको हालको परिस्थिति, सरकारको प्राथमिकता र अन्तर्राष्ट्रिय साझेदारीका अपेक्षाबारे विस्तृत जानकारी दिँदै स्पष्ट सन्देश प्रवाह गर्न आग्रह गरिन्।

उनीका अनुसार, जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार नेपाली जनताको म्यान्डेटअनुसार स्थापित भएको हो र यसप्रति छिमेकी राष्ट्र भारत–चीनसहित सबै मित्रराष्ट्र र विकास साझेदारको सद्भाव रहेको छ। प्रधानमन्त्री कार्कीले भनिन्, “नेपाल अहिले लोकतन्त्र र समतामूलक समृद्धिको दिशामा अगाडि बढिरहेको छ। हामीलाई प्राप्त सद्भाव र सहयोगका बीच यो सरकार आफ्नो म्यान्डेट समयमै पूरा गर्न प्रतिबद्ध छ।”

प्रधानमन्त्रीले देशको सुशासन र आर्थिक पुनरुत्थानलाई सरकारको शीर्ष प्राथमिकता बताउँदै आगामी फागुन २१ गते तय गरिएको आमनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयमुक्त बनाउन सबै दूतावासले अन्तर्राष्ट्रिय साझेदारसँग समन्वय बढाउन निर्देशन दिइन्। उनले भनिन्, “सरकारको प्रमुख प्राथमिकता निर्वाचन भए पनि सुशासन र उत्तरदायित्वमा उच्चतम मापदण्ड कायम गर्ने हाम्रो प्रतिबद्धता हो।”

उनले आन्दोलनका क्रममा क्षति भएका संरचना पुनर्निर्माणका लागि सञ्चालन गरिएको पुनर्निर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन पनि राजदूतहरूलाई आग्रह गरिन्। साथै, विदेशमा अस्थायी रूपमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराउन सकिने सम्भावनाबारे सुझाव र तथ्यांक संकलन गर्न निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले नेपालको अर्थतन्त्र क्रमशः स्थायित्वतर्फ फर्किरहेको बताउँदै पर्यटन क्षेत्र पुनः सशक्त रूपमा सञ्चालनमा आएको उल्लेख गरिन्। “जेन–जी आन्दोलनले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन असर पारेको छैन,” उनले भनिन्, “नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुगोस् भन्ने हाम्रो चाहना हो।”

देशभित्र र बाहिर रहेका नेपाली नागरिकलाई गुणस्तरीय सेवा र सुरक्षाको प्रत्याभूति दिन दूतावासहरूलाई उनले विशेष ध्यान दिन निर्देशन दिइन्। खाडी मुलुक र मलेसियामा कार्यरत नेपाली कामदारको अधिकार र हित सुनिश्चित गर्न सक्रिय हुन आग्रह गर्दै उनले भनिन्, “भिजिट भिसा र वैदेशिक रोजगारीमा बिचौलियाको शोषण रोक्न सरकारले आवश्यक समन्वय र कानुनी कदम अघि बढाइरहेको छ।”

प्रधानमन्त्रीले जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय कोष र साझेदारीबाट बढी लाभ लिन कूटनीतिक तयारी सुदृढ पार्नुपर्नेमा पनि जोड दिइन्। “नेपाल जस्ता देशका लागि वित्त, प्रविधि र साधनस्रोतमा पहुँच सुनिश्चित गर्न हामीले एकीकृत र प्रभावकारी कूटनीति देखाउनुपर्ने समय आएको छ,” उनले भनिन्।

अन्तर्राष्ट्रिय सहकार्यलाई पारदर्शिता, विश्वसनीयता र उत्तरदायित्वका साथ अघि बढाउन आग्रह गर्दै प्रधानमन्त्री कार्कीले नेपालले संक्रमणकालीन राजनीतिक स्थायित्वसँगै सुशासन, रोजगारी सिर्जना र प्रविधिमैत्री सार्वजनिक सेवातर्फ ठोस प्रगति गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले थपिन्, “नयाँ पुस्ताले हामीबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा राखेको छ—यो अपेक्षा पूरा गर्नु नै हाम्रो साझा जिम्मेवारी हो।”