राजनीति

कम्युनिस्ट वंशावली’को इतिहासमै ठूलो पुनर्जन्म—प्रचण्डको शक्ति केन्द्रमै!

कम्युनिस्ट वंशावली’को इतिहासमै ठूलो पुनर्जन्म—प्रचण्डको शक्ति केन्द्रमै!

काठमाडौं — दशकौंको विभाजन, आरोप–प्रत्यारोप र पुनर्मिलनका अनेक अध्याय पार गर्दै अन्ततः १० कम्युनिस्ट घटकहरू फेरि एउटै ब्यानरमुनि आएका छन्। सोमबार राजधानीमा आयोजित समारोहमार्फत नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र अन्य साना कम्युनिस्ट दलहरूले ‘नेपाली कम्युनिस्ट पार्टी’को रूपमा एकता घोषणा गरे। नयाँ पार्टीको संयोजकमा फेरि पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुँदा, देशको वाम राजनीति फेरि उनको नेतृत्वमा फर्किएको छ। यही घटनाले “के नेपालमा कम्युनिस्ट सिद्धान्तले अझै काम गर्छ?” भन्ने प्रश्न पुनः चर्चामा ल्याएको छ।

यो एकता कुनै नयाँ कथा होइन—यो पुरानो वंशावलीको अर्को अध्याय हो। सन् १९८० को दशकमा चौथो महाधिवेशनबाट छुट्टिएको नेकपा माओवादीले आफ्नो यात्रा नेकपा (मशाल) हुँदै नेकपा (एकता–केन्द्र), त्यसपछि नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी, पुनः नेकपा (माओवादी केन्द्र) हुँदै अहिले ‘नेपाली कम्युनिस्ट पार्टी’मा ल्याएर रोकेको छ। यी सबै रूपान्तरणमा प्रचण्डको हस्ताक्षर निरन्तर रह्यो। उनको राजनीतिक यात्रा ‘बन्दुकदेखि बहुमतसम्म’ र ‘क्रान्तिबाट गठबन्धनसम्म’को कथा बनिसकेको छ।

एकता कार्यक्रममा प्रचण्डले भने, “मेरो जीवनमा विरलै देखिने संयोग आइपरेको छ। यो एकता केवल संगठनको होइन, सोचको पनि पुनर्संयोजन हो।” तर यही भाषणमा उपस्थित नेताहरूबीच नै नेतृत्व सन्तुलनका विषयमा मौन असन्तोष देखिएको थियो। केही नेताहरूले पृष्ठभूमिमा प्रचण्डको ‘कब्जा मानसिकता’बारे असन्तुष्टि व्यक्त गरे, तर आधिकारिक रूपमा कसैले मुख खोल्न चाहेन्।

सार्वजनिक प्रतिक्रियामा नागरिक समाजका प्रतिनिधिहरूले भने विभाजन र एकताको यो चक्रले वाम राजनीतिलाई कमजोर बनाएको तर्क गरे। राजनीतिक विश्लेषक हरि शर्माले भने, “कम्युनिस्टहरू फेरि एक भए पनि सिद्धान्तभन्दा बढी पदको गन्ध आउने गर्छ। जनता यतिबेला वैकल्पिक शक्तितिर हेरिरहेका छन्।” त्यसैबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, “यो वाम पुनर्संयोजन हो, अवसरको खोजी होइन।”

संसदीय गणितमा यो एकता तत्काल प्रभावकारी देखिए पनि नीतिगत एकरूपता र संगठनात्मक स्थायित्वको चुनौती यथावत् छ। निर्वाचन समीकरणमा यसको प्रभाव प्रदेशहरूमा सीमित हुने अनुमान विश्लेषकहरूले गरेका छन्। तर, यो राजनीतिक क्षणले एक कुरा प्रस्ट पारेको छ—नेपालमा ‘कम्युनिस्ट’ शब्द अझै भावनात्मक शक्ति बोकेको छ, चाहे त्यसको कार्यान्वयन कति नै जर्जर किन नहोस्।

इतिहासका नौ संस्करण पार गरेको कम्युनिस्ट आन्दोलन फेरि एउटै नाममा फर्कँदा प्रश्न अनिवार्य रूपमा उठ्छ—के यो युगमा कम्युनिस्ट विचारधारा साँच्चै काम गर्छ, वा केवल पुनः ब्रान्डिङको अर्को प्रयोग हो?


प्रचण्डले नेतृत्व गरेको पार्टीको वंशावली यस्तो छः

१) नेकपा (चौथो महाधिवेशन)
२) नेकपा (मशाल)
३) नेकपा (एकता–केन्द्र)
४) नेकपा (माओवादी)
५) एकीकृत नेकपा (माओवादी)
६) नेकपा (माओवादी–केन्द्र)
७) नेपाल कम्युनिस्ट पार्टी
८) नेकपा (माओवादी–केन्द्र)
९) नेपाली कम्युनिस्ट पार्टी
 

नेकपा माओवादी