आरजु राणादेखि अनुष्कासम्म : 'समानुपातिकको दुरुपयोगमा नयाँ दल पनि पुराना जस्तै !
प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भएको भन्दै अधिवक्ता तथा अन्तरविषयी जलवायु न्याय अभियन्ता तनुजा पाण्डेले गम्भीर नैतिक प्रश्न उठाएकी छिन्। ऐतिहासिक रूपमा पछाडि पारिएका वर्ग, समुदायको संघर्ष र बलिदानबाट स्थापित समानुपातिक प्रणालीलाई दलहरूले नाम, पैसा र शक्ति प्राप्तिको माध्यम बनाएको भन्दै उनले कडा आपत्ति जनाएकी हुन्। पाण्डेले सामाजिक सञ्जालमार्फत व्यक्त गरेको धारणा अनुसार, हिजो आरजु राणा देउवा समानुपातिकबाट सांसद बन्दा लज्जास्पद मान्ने प्रवृत्ति र आज 'नयाँ' भनिएका दलहरूले पनि पहुँच र लोकप्रियताका आधारमा उही प्रवृत्ति दोहोर्याउनुमा कुनै तात्विक भिन्नता छैन। लोकतन्त्र बलियो बनाउन विविधता आवश्यक भए पनि समानुपातिकको मूल मर्म मिचेर हुने प्रतिनिधित्व अस्वीकार्य हुने उनको तर्क छ।
पछिल्लो समय राजनीतिमा 'जेन-जी' (Gen Z) र वैकल्पिक शक्तिहरूले मिस नेपाल अनुष्का श्रेष्ठजस्ता सेलिब्रेटी अनुहारलाई स्वागत गरेको सन्दर्भमा पाण्डेले समाजको दोहोरो चरित्रलाई पनि उजागर गरेकी छिन्। हिजो शृङ्खला खतिवडाको राजनीतिक महत्वाकांक्षालाई मजाकमा उडाउने जमातले नै आज उस्तै पृष्ठभूमि भएका व्यक्तिलाई स्वागत गर्नु विरोधाभासपूर्ण रहेको उनले औंल्याएकी छिन्। यद्यपि, मानुषी यमी भट्टराई, सुहाङ नेम्वाङ, शृङ्खला खतिवडा, सृष्टि सिंह श्रेष्ठ र विदुषी राणाजस्ता 'नेपो किड्स' वा पुस्तान्तरीय सुविधा प्राप्त व्यक्तिहरूमा स्रोत र साधन मात्र नभई उच्च बौद्धिकता, नेतृत्व क्षमता र नैतिकता पनि रहेको तथ्यलाई उनले स्वीकार गरेकी छिन्। यस्ता प्रतिभालाई ईर्ष्या वा घृणा गर्नुको साटो राजनीतिमा ल्याउनु आवश्यक रहेको उनको बुझाइ छ।
तर, यी सक्षम र स्रोतसाधन सम्पन्न व्यक्तिहरू समानुपातिक कोटाको भर्याङ चढेर होइन, प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत प्रतिस्पर्धामा उत्रिनुपर्नेमा अधिवक्ता पाण्डेले जोड दिएकी छिन्। समानुपातिक प्रणाली सीमान्तकृतहरूका लागि सुरक्षित गरिनुपर्ने र पहुँचवालाहरूले खुल्ला प्रतिस्पर्धाको आँट गर्नुपर्ने उनको स्पष्ट सन्देश छ। शक्ति आर्जनको प्रक्रिया केवल होर्डिङ बोर्ड र पहुँचमा आधारित नभई, समावेशिताको ऐतिहासिक उद्देश्य र लोकतान्त्रिक विधिको सही प्रयोगमा आधारित हुनुपर्ने बहसले अहिलेको राजनीतिक वृत्तमा विशेष अर्थ राख्दछ।
तनुजा पाण्डे