सहमति विनै उम्मेदवार ? रास्वपाको सूची हेरेर डा. लावती चकित, तत्काल नाम हटाउन माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो सहमति बिना नै नाम समावेश गरिएको भन्दै वरिष्ठ बौद्धिक व्यक्तित्व तथा प्राध्यापक डा. महेन्द्र लावतीले गम्भीर आपत्ति जनाएका छन्। सोमबार आयोगमा दर्ता भएको ११० जनाको सूचीमा आदिवासी जनजाति क्लस्टरतर्फ १२औँ नम्बरमा नाम सार्वजनिक भएपछि डा. लावतीले आफूलाई जानकारी नै नदिई उम्मेदवार बनाइएको दाबी गरेका हुन्। हाल काठमाडौं बाहिर रहेका उनले आफू सूचीमा परेको खबर पाएलगत्तै पार्टी नेतृत्वलाई फोन सम्पर्क गरी आफ्नो नाम तत्काल हटाउन औपचारिक आग्रह गरिसकेको स्पष्ट पारेका छन्।
यो घटनाक्रम सोमबार मात्रै रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायबीच भएको चुनावी तालमेल तथा एकता सम्झौताको पृष्ठभूमिमा विकसित भएको हो। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँगको एकतापछि उक्त दललाई समानुपातिक तर्फ १८ सिट छुट्याइएको थियो, जसमा अध्यक्ष र उपाध्यक्षसँगै डा. लावतीको नाम पनि समावेश गरिएको थियो। उम्मेदवार चयन प्रक्रियामा व्यक्तिको पूर्वस्वीकृति अनिवार्य हुने लोकतान्त्रिक मान्यता विपरित सहमति बेगर नै नाम चढाइनुले नयाँ बनेको 'टेक्नोक्र्याट' गठबन्धनभित्रको आन्तरिक समन्वय र प्रक्रियागत परिपक्वतामाथि प्रारम्भिक प्रश्न खडा गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी