समाचार

पार्टीको झोले बनेर सबै नागरिकको गुजारा चल्दैन : शंकर पाण्डे ‘मुक्ति

पार्टीको झोले बनेर सबै नागरिकको गुजारा चल्दैन :  शंकर पाण्डे ‘मुक्ति

साहित्यिक तथा सामाजिक सरोकारका विषयमा कलम चलाउने शंकर पाण्डे ‘मुक्ति’ले नेपालका सत्तासीन व्यक्तिहरूलाई कडा आलोचना गरेका छन्। नेपालआजसँग विशेष कुराकानी गर्दै उनले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे।

साहित्यबाट जागिरसम्मको यात्रा
चितवनमा जन्मेका मुक्तिलाई सानैदेखि साहित्यमा रुचि थियो। जनआन्दोलनका बेला उनका रचनाहरूले समाजलाई झक्झक्याए। उनले राजनीतिक, सामाजिक र समसामयिक विषयवस्तुलाई कलममार्फत प्रस्तुत गर्दै आएका छन्।

तर, समयसँगै परिस्थितिले उनलाई साहित्यभन्दा पर धकेल्यो। जीविकोपार्जनका लागि उनले जागिर रोजे। तर, देशको दयनीय अवस्थाले उनलाई पुनः कलम समात्न बाध्य बनायो।

सरकारलाई कुलमान घिसिङप्रति असन्तुष्टि
मुक्तिले सरकारको निर्णयहरूप्रति कडा आपत्ति जनाएका छन्। विशेष गरी कुलमान घिसिङलाई दिइएको सरकारी ‘रेटिङ’ प्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो आक्रोश कवितामार्फत पोखेका छन्।

नेपालको वास्तविकता: भ्रष्टाचार, बेरोजगारी र बेथिति
उनका अनुसार नेपालमा केही परिवर्तन भए पनि मुलुकले अपेक्षित विकासको गति लिन सकेको छैन। “भ्रष्टाचारले जरा गाडेर बसेको छ। नागरिकलाई जागरूक बनाउन आवश्यक छ,” उनले भने।

विदेशिने युवाको संख्या दिनदिनै बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे। “युवाले देशमै रोजगारी पाएको भए कोही विदेशिने थिएन। बाकसमा फर्कनुपर्ने अवस्थासमेत आउने थिएन,” मुक्तिले भने।

"अब जनता सचेत हुनुपर्छ!"
जनताको सहभागिता बिना परिवर्तन सम्भव नभएको मुक्तिको विश्वास छ। “झोले भएर बाँच्न सकिँदैन। नेताहरूले जनताको वास्तविक आवश्यकता बुझ्नुपर्छ। जनताले पनि अधिकारका लागि उठ्नुपर्छ,” उनले चेतावनी दिए।

नेपालको उज्ज्वल भविष्य देख्न चाहने मुक्तिले परिवर्तनका लागि नागरिक सचेतना पहिलो शर्त रहेको बताए। "अब समय आयो, आँखा खोल्ने!"