मधेसमा दलित परिवार उठीबास प्रकरण: ‘महायज्ञ’ को नाममा अमानवीय अपराध, दोषीलाई कारबाहीको माग

जनकपुरधाम – सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दलित परिवारको घर भत्काइएपछि मधेस प्रदेशसभा तातेको छ। सांसदहरूले यो घटना अमानवीय र निन्दनीय भन्दै दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्।
बिहीबार बसेको प्रदेशसभा बैठकमा सांसदहरूले दीपक मलिकको घर भत्काइएर परिवारलाई उठीबास गराइएको घटनाको कडा विरोध गरे। ‘यज्ञका नाममा दलित परिवारलाई अन्याय गर्न पाइँदैन। दोषी जोसुकै भए पनि कारबाही गर्नुपर्छ,’ सांसद निलमकुमारी रजकले भनिन्।
एमाले सांसद लखन दास तत्माले मधेसमा पटक–पटक दलित समुदायमाथि ज्यादती हुँदा पनि सरकार मौन बसेको आरोप लगाए। ‘तीन दशकदेखि बसोबास गरिरहेको परिवारलाई जबरजस्ती उठीबास गराउनु अमानवीय कार्य हो। छुवाछुतलाई मलजल गर्ने सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने।
माओवादी सांसद मालाकुमारी कर्णले गाउँपालिका अध्यक्षको संलग्नता नै गम्भीर विषय भएको बताउँदै घटनाप्रति दुःख व्यक्त गरिन्। ‘सधैँ दलितमाथि अत्याचार भइरहेछ। मलिक परिवारलाई तत्काल बसोबासको व्यवस्था गरिनुपर्छ, दोषीलाई हदैसम्मको सजाय दिनुपर्छ,’ उनले जोड दिइन्।
एमाले सांसद रोजेन्द्र चौधरीले रिंकु सदाको घटना सेलाउन नपाउँदै फेरि सिरहामै दलितको घर भत्काइनु गम्भीर विषय भएको बताए। ‘मानवता नै हराएको छ। यस्तो अपराध गर्ने जनप्रतिनिधिलाई कारबाही गर्नुपर्छ। प्रदेश सरकारले अब कडा कदम चाल्नैपर्छ,’ उनले चेतावनी दिए।
यस घटनाको मुख्य योजनाकार महायज्ञ आयोजक बजरंगी बाबा रहेको खुलेको छ। उनले दलितको बसोबास महायज्ञको पवित्रताविरुद्ध रहेको भन्दै मलिक परिवारको घर भत्काउन आदेश दिएका थिए। गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवको अगुवाइमा जेसीबी लगाएर मलिक परिवारलाई उठीबास गराइएको हो।
पीडित दीपक मलिककी श्रीमती अनिता मरिकले आफ्नो घर भत्काइएर जबरजस्ती अन्यत्र सर्न बाध्य पारिएको बताएकी छन्। अहिले मलिक परिवारको घर भएको ठाउँमा महायज्ञको तयारी भइरहेको छ।
सांसदहरूले यस्तो विभेदकारी घटनालाई उन्मुक्ति दिन नहुने भन्दै प्रदेश सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्। ‘यो घटना दलितमाथि खुला आक्रमण हो। अब कानुनी कारबाही अनिवार्य छ!’