कुलमान घिसिङलाई बदला लिन चुनाव लड्नुस्:डा. महावीर

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी निर्वाचनमा उत्रिन सुझाएका छन्। ऊर्जा मन्त्री दीपक खड्काले कुलमानलाई अन्याय गरिरहेको भन्दै उनले प्रतिशोध लिन राजनीतिक मैदानमा आउन आग्रह गरेका हुन्।
डा. पुनले सामाजिक सञ्जालमा लेख्दै भने, "आफूलाई दुःख दिने मन्त्रीकै क्षेत्रबाट चुनाव लडेर हराउने आँट गर्नुस्!"
उनले ऊर्जा मन्त्रालयले कुलमानको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको घटनालाई पनि कडा आलोचना गरेका छन्। सचिव र सहसचिवहरूले विवेकहीन निर्णय गरेको भन्दै उनले ती कर्मचारीलाई *"-९९ नम्बर" दिने टिप्पणी गरे।
"यस्ता कर्मचारीहरूले देश डुबाउँछन्, नेताहरूलाई पंगु बनाउँछन्," पुनको आक्रोश छ।
ऊर्जा मन्त्रालयले लोडसेडिङ अन्त्य गरी नेपाल विद्युत् प्राधिकरणलाई मुनाफामा पुर्याएका घिसिङलाई शून्य अंक दिएको विषयले सरकारको चौतर्फी आलोचना भइरहेको छ। संसददेखि सडकसम्म यो निर्णयविरुद्ध आवाज उठ्दै गर्दा, पुनले थप चर्को प्रतिक्रिया दिएका हुन्।
कुलमान घिसिङ राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुन