भारतमै समातिए दुर्गा प्रसाईं! भारतीय समर्थनले छताछुल्ल पर्यो राजावादी प्रचार

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि फरार रहेका दुर्गा प्रसाईंलाई भारतको उत्तर–पूर्वी राज्य आसामबाट नेपाल ल्याइएसँगै भारतीय पक्षले पूर्वराजा पक्षधर आन्दोलनलाई संरक्षण दिएको भन्ने आशंकालाई खारेज गरेको छ। भारतको प्रहरी सहयोगमा भएको गिरफ्तारीले नेपाल–भारतबीचको सुरक्षा सहकार्यलाई अझ प्रगाढ बनाएको संकेत दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले बिहीबार राति दुर्गा प्रसाईंको पक्राउबारे खण्डनसहित विज्ञप्ति जारी गरे पनि त्यो प्रहरी रणनीतिकै हिस्सा भएको पुष्टि भएको छ। कारण स्पष्ट छ—भारतीय भूमि प्रयोग गरेर फरार भएका अभियुक्तलाई नेपाल ल्याउन सूचनाको गोपनीयता अत्यन्त आवश्यक हुन्छ। प्रहरी स्रोतका अनुसार, सूचना चुहिएपछि भारतीय पक्षको सहयोगमा समस्या आउन सक्ने भएकाले तत्कालीन अवस्थामा पक्राउ नभएको जानकारी दिनुपरेको थियो।
प्रहरी अधिकारीका अनुसार, “भारतीय पक्षले चासो देखाएको थियो। त्यसपछि आइजीपी थापाको निर्देशनमा प्रवक्ता आचार्यले खण्डनात्मक विज्ञप्ति जारी गरेका थिए।”
यसैबीच, दुर्गा प्रसाईंको सचिवालयले उनी आत्मसमर्पण गरेको भन्दै फेसबुक पेजमा पोस्ट गरे पनि वास्तविकता त्यसको ठीक उल्टो थियो—उनी भारतको आसाममा समातिएका थिए। प्रहरी स्रोतका अनुसार, उनलाई त्यसपछिको १० घण्टा लामो यात्रापछि सीमा क्षेत्र हुँदै नेपाल ल्याइएको हो।
भारतको सहयोग : कूटनीतिक र रणनीतिक सन्देश
प्रसाईंमाथिको कारबाहीले केही समयदेखि चर्चामा आएको भारतले राजसंस्था पुनर्स्थापनालाई समर्थन गरिरहेको छ भन्ने आशंकामा पूर्णविराम लगाएको छ। भारतको सहकार्यमा प्रसाईंको गिरफ्तारी हुनु आफैमा एउटा राजनीतिक सन्देश हो—भारत गणतान्त्रिक नेपालमा राजसंस्थाका पक्षपातीहरूलाई संरक्षण गर्ने रणनीतिमा छैन।
यसअघि पनि खुला सीमाका कारण एक–अर्काको भूमिमा अपराध गरेर लुकेका अभियुक्तहरूलाई नेपाल र भारतले अनौपचारिक सहयोगमार्फत जिम्मा लगाउने अभ्यास गर्दै आएका थिए। प्रसाईंको मामिलामा पनि यही कार्यप्रणाली अपनाइएको हो। प्रहरी अधिकारीका अनुसार, "भारतमा गएर समातेर ल्याएको देखाउने कानुनी झन्झटलाई टार्न सीमाबाट पक्राउ गरिएको देखाइएको हो।"
गृह मन्त्रालयको गम्भीर तयारी
प्रसाईं पक्राउ हुनु गृहमन्त्री रमेश लेखक, प्रहरी प्रमुख दीपक थापा र अन्य उच्च अधिकारीबीच गम्भीर बैठक बसेको थियो। सूचना चुहिने जोखिमपछि कसरी उनलाई सुरक्षित रुपमा ल्याउने भन्नेबारे व्यापक छलफल भएको थियो।
गृहमन्त्री लेखकले तीनकुनेमा भएको राजावादी आन्दोलनलाई ‘संविधान च्यात्ने प्रयास’ भन्दै संसद्मा कडा टिप्पणी गरेका थिए। सोही घटनामा दुई जनाको मृत्यु, सार्वजनिक सम्पत्ति जलाइयो, पार्टी कार्यालयमाथि आक्रमण गरियो। यसको मुख्य कमाण्डरको रूपमा प्रसाईं चिनिएका थिए।
कानुनी प्रक्रिया सुरु, म्याद थप माग
भारतबाट पक्राउ गरी झापा हुँदै काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत लगिएको छ। प्रहरीका अनुसार, १२ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योगलगायतका गम्भीर अभियोगमा अनुसन्धान अघि बढाइनेछ। उनका बडिगार्ड दीपक खड्कालाई पनि अनुसन्धानका लागि हिरासतमा राखिएको छ।
यसअघि चैत १५ गतेको घटनामा राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र र धवलशम्शेर जबरालाई पनि १५ दिन हिरासतमा राख्ने अनुमति अदालतबाट लिइएको थियो।
भारतले दिएको व्यवहारिक सन्देश
दुर्गा प्रसाईंको गिरफ्तारीले दुईवटा सन्देश दिएको छ — पहिलो, भारत र नेपालबीचको सुरक्षा सहकार्य अझ सुदृढ भएको छ; दोस्रो, भारतलाई आरोप लगाइने गरेको ‘राजावादी संरक्षण’को आशंका तथ्यमा आधारित थिएन।
दुर्गा प्रसाईंमाथिको कारबाही गणतन्त्रप्रति चुनौती दिने हर्कतहरूलाई निषेध गर्ने नेपालको आन्तरिक सुरक्षातर्फको प्रतिबद्धता मात्र होइन, भारतको परिपक्व कूटनीतिक व्यवहारको उदाहरण पनि हो।
अब, संविधानमाथिको चुनौतीको प्रतिकार मात्रै होइन, लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने दिशामा नेपालको सुरक्षा संयन्त्र उन्मुख छ भन्ने सन्देश पनि यस घटनाले दिएको छ।