राजनीति

संघीय मामिला सहित केही मन्त्री हेरफर गर्ने तयारीमा सरकार 

संघीय मामिला सहित केही मन्त्री हेरफर गर्ने तयारीमा सरकार 

वर्तमान सरकारले मन्त्रिपरिषद्मा महत्त्वपूर्ण फेरबदल गर्ने तयारी तीव्र पारेको छ। सत्ता साझेदार दलका शीर्ष नेतृत्व तहमा केही मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि चुलिएको र केही नयाँ अनुहारलाई मन्त्री बनाउनुपर्ने दबाब बढेसँगै यो प्रक्रिया अघि बढाइएको हो। विशेषगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लगायतका केही मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाउने गरी गृहकार्य भइरहेको उच्च राजनीतिक स्रोतले जनाएको छ।

सरकारको अपेक्षा र गतिअनुसार काम गर्न नसकेको भन्दै केही मन्त्रीहरूको विकल्प खोज्ने विषयमा सत्ता गठबन्धनभित्र सघन छलफल प्रारम्भ भएको छ। हटाइने सम्भावित मन्त्रीहरूको सूचीमा संघीय मामिला मन्त्री गुप्तासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डे रहेको बुझिएको छ।

संघीय मामिला मन्त्री गुप्ता कर्मचारी सरुवा प्रकरणमा विवादित बनेको र अन्य मन्त्रीहरूको कार्यसम्पादन पनि सन्तोषजनक नरहेको निष्कर्षका आधारमा उनीहरूलाई हटाउने तयारी गरिएको बताइएको छ।

एमालेका एक नेताका अनुसार, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हाल थाइल्यान्डको बैंककमा हुनुहुन्छ। उहाँ स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढ्ने सम्भावना प्रबल छ।

यो फेरबदलको चर्चा चलिरहँदा बुधबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी रघुजी पन्तलाई सुम्पिनुभएको छ। तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा प्रधानमन्त्री ओलीले पन्तलाई नियुक्त गर्नुभएको हो। यो नियुक्तिलाई पनि आसन्न मन्त्रिपरिषद् पुनर्गठनको पूर्वसंकेतका रूपमा हेरिएको छ।