विदेश

पाकिस्तानले दाबी गरेपछि चीनको प्रतिक्रिया: “हामीलाई जानकारी छैन”

पाकिस्तानले दाबी गरेपछि चीनको प्रतिक्रिया: “हामीलाई जानकारी छैन”

भारतको 'अपरेसन सिन्धूर' मा पाकिस्तानका आतङ्कवादी शिविरहरूमाथि भएको सटीक प्रहारपछि, पाकिस्तानले चीनसँग निर्मित लडाकु विमानहरू प्रयोग गरिएको दाबी गरे पनि चीनले त्यसबारे अज्ञानता व्यक्त गरेको छ।

चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन ज्यानले बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा भने, “तपाईंले उल्लेख गर्नुभएको विषयबारे म परिचित छैन।” उनले पाकिस्तानद्वारा कथित रूपमा प्रयोग गरिएको J-10C लडाकु विमानबारे कुनै औपचारिक पुष्टि गर्न अस्वीकार गरे।

यसअघि पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इसहाक डारले संसदमा दाबी गरेका थिए कि पाकिस्तानले भारतको पाँचवटा लडाकु विमान, जसमा फ्रेन्च–निर्मित राफेल पनि सामेल थिए, चीनीया J-10C विमान प्रयोग गरी खसालेको हो। उनले थपे कि पाकिस्तानले आफ्नो सबै गतिविधिबारे चीनलाई पूर्ण रूपमा जानकारी दिएको थियो।

चीनको “हामीलाई थाहा छैन” भन्ने टिप्पणीले पाकिस्तानको दाबीमाथि थप प्रश्नचिन्ह खडा गरेको छ। विश्लेषकहरूले यसलाई पाकिस्तानका लागि कूटनीतिक अपमानको रूपमा हेरेका छन्, विशेषतः यस्तो संवेदनशील क्षणमा जब उसले चीनसँगको रक्षा साझेदारीलाई बलियो देखाउन खोजिरहेको छ।

भारतले अहिलेसम्म आधिकारिक रूपमा पाकिस्तानका दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन, तर चीनको यस्तो स्पष्ट अस्वीकारले पाकिस्तानको विश्वसनीयता र सूचनाको प्रामाणिकतामाथि शंका उत्पन्न गराएको छ। यो घटनाले पाकिस्तानले युद्धको मैदानभन्दा बढी सूचनाको मैदानमा भ्रम सिर्जना गर्न खोजेको देखिन्छ, तर चीनको मौनताले त्यसको विश्वसनीयता कमजोर बनाएको छ।