‘वेश्याको व्यवहार गरियो!’ भन्दै मिस इङ्ल्यान्डले प्रतियोगिता छाडिन्

सौन्दर्य प्रतियोगिताको ७४ वर्षे इतिहासमै पहिलो पटक मिस इङ्ल्यान्ड २०२४ विजेता मिल्ला मेगे (२४) ‘मिस वल्र्ड’ बीचमै छाडेकी छिन्। उनले हैदराबादमा आयोजना भइरहेको कार्यक्रमको क्रममा आफूलाई “प्रदर्शन गर्ने बन्दरझैं” र “वेश्या जस्तै” व्यवहार गरिएको गम्भीर आरोप लगाएकी छिन्।
मेगे ७ मेमा हैदराबाद पुगेकी थिइन् प्रचार कार्यक्रममा भाग लिन। सुरुमा आयोजकहरूले उनको प्रस्थानलाई “निजी कारण” बताउँदै टारेका थिए। तर मेगेले पछि सार्वजनिक रूपमा बताइन् कि उनीमाथि गरिएको व्यवहार अपमानजनक थियो। उनले भनिन्, “हामीलाई छ जनाका पाहुना बसेको टेबलमा दुई-दुई जना प्रतियोगी राखेर रमाइलो गराउन लगाइन्थ्यो। साँझभर उनीहरूसँग बस्नुपर्थ्यो। मलाई वेश्या जस्तो महसुस भयो।”
उनले थपिन् कि आफूले ल्याएको सामाजिक अभियान—CPR सचेतनालाई नजरअन्दाज गरिएको थियो। साथै, उनलाई २४ घण्टा बलगाउन र मेकअपमा रहन निर्देशन दिइन्थ्यो, बिहान ब्रेकफास्टमा पनि। एक अवसरमा आयोजकले उनको अनुहार अगाडि ताली बजाएर ध्यानाकर्षण गराएको कुरा पनि उनले स्मरण गरिन्, जसलाई उनले असभ्य र अनादरजनक मानेकी थिइन्।
मिस वल्र्डका प्रमुखहरूले भने यो आरोप अस्वीकार गरेका छन् र मेगेले आमा बिरामी भएकाले प्रतियोगिता छाडेको दाबी गरेका छन्। उनीहरूले कार्यक्रम सुचारु भएको, रमाइलो भएको देखाउने फुटेज समेत सार्वजनिक गरेका छन्। तर मेगेकी आमाले भने उनकी छोरीले आफ्नै खर्चमा घर फर्किएको र आयोजकबाट कुनै सहयोग नपाएको बताएकी छिन्।
मिस इङ्ल्यान्डकी निर्देशक एन्जी बीस्लीले भने मेगेको स्वास्थ्य र आत्मसम्मानलाई प्राथमिकता दिइएको र उनको निर्णयलाई पूर्ण समर्थन गरिएको बताएका छन्।
यो घटनाले सौन्दर्य प्रतियोगितामा भइरहेका परम्परागत र विवादास्पद अभ्यासहरूलाई पुनः बहसको केन्द्रमा ल्याएको छ। मेगेको निर्णयले यस्ता प्रतियोगितालाई वर्तमान मूल्य र सम्मानको दृष्टिले पुनर्विचार गर्न बाध्य बनाएको छ।