सुन्दर नायिकाको दर्दनाक अन्त्य: 'गुरुप्रसाद' खाएपछि किन भइन् पागल? मुटु काँप्ने भित्री कथा!

वैशाली... आह, वैशाली! प्राचिन गणतन्त्रको त्यो गौरवशाली भूमि, जहाँ लिक्छविहरूको कला, संस्कृति र शासनले एक युगलाई नै आलोकित गरेको थियो। भनिन्छ, तिनै कलाप्रेमी, स्वाभिमानी लिक्छविहरू पछि छिमेकी राज्यहरूको निरन्तर दबाबबाट बच्न पहाड उक्ले, र काठमाण्डौ उपत्यकामा नयाँ सभ्यताको जग बसाले। त्यो ईसापूर्व छैठौं शताब्दीतिरको कुरा, इतिहासका पानाहरूमा धुमिल हुँदै गएको तर गणतन्त्रको त्यो बीज–विचारले भने आसपासका क्षेत्रहरूलाई युगौंसम्म प्रभावित पारिरह्यो।
हाम्रो कथा त्यही वैशालीबाट उत्तरतिर पर्ने, एक समयमा धार्मिक र सांस्कृतिक रूपमा सम्पन्न मानिने, एउटा सानो तर स्वतन्त्र राज्यबाट सुरु हुन्छ। त्यस राज्यको राजधानीभन्दा केही पर, घना जंगलको एकान्तमा, एक आश्रमले बिस्तारै आफ्नो आकार लिँदै थियो। त्यसका सञ्चालक थिए– सिंहजी। मानिसहरू उनलाई यही नामले चिन्थे। उनले एक अनौठो सम्प्रदायको सूत्रपात गरेका थिए, जो हेर्दा त मौलिक लाग्थ्यो, तर जानकारहरू भन्थे– यो एक प्रसिद्ध भारतीय दार्शनिक सन्तको विचार–शृंखलालाई तोडमोड गरेर, आफ्नै अनुकूल व्याख्या गरिएको एक अनुयायी–निर्माण प्रक्रिया मात्र हो। सिंहजीका आफ्नै मौलिक दर्शन त थिएनन्, तर उनको वाक्पटुता र पाण्डित्य प्रदर्शन गर्ने कला अद्भुत थियो। अर्काको ज्ञानलाई पनि आफ्नै मानस–मन्थनको उपज जसरी प्रस्तुत गर्न उनी सिपालु थिए। खैर, त्यो बेला सायद प्रतिलिपि अधिकारको त्यति कडिकडाउ थिएन होला! तर मलाई कथा सुनाउने सन्तका अनुसार, मूल गुरुका मन्त्र र विधिहरूमा त कपिराईट नै थियो, जसलाई सिंहजीले निर्लज्जतापूर्वक आफ्नो बनाएका थिए।
आश्रम आफैंमा एक रहस्य थियो। त्यहाँ अभ्यास गराइने ध्यान विधिहरू अनौठा र अजिबका थिए। कतिपयले त ठट्टा गर्दै भन्थे, "सिंहजीले कुनै अदृश्य विद्युतचुम्बकीय तरंग प्रयोग गरेर भक्तहरूको मन शान्त पार्छन् क्यारे!" नभन्दै, मनमा अशान्ति बोकेका, जीवनका दुःख र पीडाले थिचिएका, दाम्पत्य जीवन वा प्रेम सम्बन्धमा असफल भएकाहरूको भीड त्यहाँ बाक्लै हुन्थ्यो। आश्रमको माहौल अनौठो थियो– बाहिर शान्तिको आवरण, भित्र भावनाहरूको उथलपुथल। त्यहाँ मानिसहरू एकअर्कासँग प्रेम गर्थे, कतिपयले त 'आध्यात्मिक विवाह' पनि गर्थे। उनीहरूको तर्क हुन्थ्यो– "किन समाजको कठोर नियम र मान्यताको बन्धनमा बाँधिनु? जब आत्माले आत्मालाई स्वीकार गर्छ, त्यही नै वास्तविक विवाह हो।"
उच्च पदस्थ सरकारी अधिकारीहरू, मन्त्रीहरू, सेनापतिहरू समेत उनको कुटीमा दर्शनभेटका लागि पुग्ने हुँदा सिंहजी छोटो समयमै 'ब्राण्डेड जोगी'का रूपमा स्थापित भइसकेका थिए। राज्यको नियम–कानुनले छुन नसक्ने त्यो पवित्र (?) स्थल, एक प्रकारले उच्चस्तरीय स्वतन्त्रता अभ्यास गर्ने केन्द्र बनेको थियो, जहाँ सामाजिक मर्यादाका सीमाहरू धूमिल थिए।
तर सिंहजी? उनी सन्तभन्दा बढी व्यापारी थिए, योगीभन्दा बढी प्राविधिक। विवाहित थिए, छोराछोरी भइसकेका थिए। अरूको मनमा शान्ति छर्ने दाबी गर्ने उनको आफ्नै मन भने सधैं अस्थिर र अतृप्त रहन्थ्यो। उनले आफ्नै एक समर्पित महिला भक्तलाई आफूमा पूर्ण समर्पण गर्न उक्साए, र उनलाई 'गुरुआमा'को पदवी दिँदै 'आध्यात्मिक विवाह'को सार्वजनिक घोषणा गरे। यसले उनको महिमा झनै बढायो।
अब त भक्तहरूको उनीप्रतिको समर्पण एकप्रकारको प्रतिस्पर्धामा बदलियो। विशेषगरी महिला भक्तहरू उनको सेवामा लालायित हुन थाले। कोही उनको शरीरमा सुगन्धित तेलले मालिस गरिदिन्थे, कोही उनको हरेक इसारा पर्खिरहन्थे। युवतीहरूबीच गुरुप्रति आफूलाई समर्पित गर्ने होडबाजी नै चल्न थाल्यो। गुरु एक, समर्पण गर्ने अनेक! सिंहजीले क-कसलाई समय दिनु? स्थिति यस्तो आयो कि समर्पण गर्न चाहनेहरूले पालो कुर्नुपर्ने भयो।
यही 'विशेष समर्पण'लाई एउटा सांकेतिक नाम दिइयो– 'गुरुप्रसाद'। यो यस्तो प्रसाद थियो, जुन छानिएका, विशेषगरी सुन्दर र तरुण महिला भक्तहरूले मात्र पाउँथे। कुटीभित्र सिंहजीको एउटा नितान्त निजी, गोप्य कक्ष थियो, जहाँ यो 'प्रसाद' वितरण गरिन्थ्यो। यो प्रसाद पाउने युवतीहरू आफूलाई परम भाग्यशाली ठान्थे। उनीहरूको अनुहारमा एक विशेष चमक देखिन्थ्यो, उनीहरूको हिँडाइ र बोलाइमा एक अनौठो रवाफ र आत्मविश्वास झल्किन्थ्यो। आश्रमभित्र उनीहरूको दबदबा नै फरक हुन्थ्यो।
तर गुरुको यो 'प्रेम प्रसाद' वा 'गुरुप्रसाद' नपाउनेहरू साँच्चिकै दुःखी र कुण्ठित हुन्थे। उनीहरू आपसमा, वा कहिलेकाहीँ आक्रोशमिश्रित व्यंग्यमा भन्थे, "खै के जमाना आयो! कसै कसैको त शुक्रकिट पनि प्रसाद हुने रै'छ!"
यता, वैशालीको गणतन्त्रको हावा बिस्तारै त्यस उत्तरको राज्यमा पनि परिसकेको थियो। त्यहाँ पनि राजतन्त्र ढलेर गणतन्त्र आयो। तर गणतन्त्रसँगै भ्रष्टाचार, बेथिति र बेविचारले पनि जरा गाड्न थाल्यो। देश आक्रान्त हुँदै थियो। त्यसको छायाँ सिंहजीको आश्रममा प्रस्ट देखिन्थ्यो– 'गुरुप्रसाद' वितरणमा चरम असमानता थियो। जो सुन्दर छे, उसैले पाउने, अरू हेरेको हेर्यै। यो आश्रमभित्रको सूक्ष्म भ्रष्टाचार र विभेद, बाहिर समाजमा फैलिँदै गएको बृहत् बेथितिको सानो तर कुरूप प्रतिबिम्ब जस्तो देखिन्थ्यो।
यही क्रममा, आफ्नो समयकी एक अत्यन्तै रूपवती र प्रतिभाशाली कलाकार युवती पनि शान्तिको खोजीमा त्यस आश्रममा आइपुगिन्। उनको कला जस्तै उनको सौन्दर्य पनि अलौकिक थियो। भनिन्छ, उनको र सिंहजीबीच एक 'विशेष' सम्बन्ध गाँसियो। उनको निर्दोष आशा र समर्पण, सिंहजीको चतुर आकर्षणमा अल्झियो। उनी लामो समय त्यहाँ बसिन्। आश्रममा उनको पनि बेग्लै स्थान बन्यो। चर्चा चल्न थाल्यो– उनले पनि 'गुरुप्रसाद' पाइन्।
तर अन्त्य सुखद भएन। केही समयपछि, तिनै तेजस्वी कलाकार युवती मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगिन्। उनको त्यो अलौकिक सौन्दर्य ओइलाएको थियो, आँखामा आशाको ठाउँ भय र पीडाले लिएको थियो। एकदिन, कसैलाई केही नभनी, आँखाभरि आँसु लिएर उनी आश्रमबाट बाहिरिइन्– मानसिक रोगको उपचार गराउन भन्दै। त्यसपछि उनको के भयो, कसैलाई यकिन छैन। तर आश्रमका जानकारहरू कानाखुसी गर्थे– "उनले पनि 'गुरुप्रसाद' पाएकी थिइन्, सायद त्यो पचाउन सकिनन्।"
यो कथा यहीँ टुङ्गिन्छ। सत्य के हो, कसलाई थाहा? प्रमाण छैन। तर कथा सुनाउने सन्त भन्छन्– यस्ता सिंहजीहरू र उनीहरूको 'प्रसाद'को खेल हरेक युगमा, हरेक समाजमा कुनै न कुनै रूपमा चलिरहेकै हुन्छ। वैशालीको गणतन्त्रले सिकाएको समानता र न्यायको पाठ, त्यसको उत्तरतिरको यो आश्रमले यसरी धुजाधुजा पारेको थियो। इतिहास आफैंलाई दोहोर्याउँछ, कहिले गौरव बनेर, कहिले यस्तै विडम्बना बनेर।