काठमाडौँमा अहिलेसम्मकै ठुलो आन्दोलन, उथलपुथलको सम्भावना
— एक उपभोक्ताको अधुरो सपना

काठमाडौं — बिहानको मधुरो घामसँगै राजधानीका सडकहरू उपभोक्ताको गुनासो, अपेक्षा र आक्रोशले भरिए। कुनै राजनीतिक ब्यानर, कुनै नेता वा कुनै दलको चिन्ह देखिएन। सडकमा सुनिएको आवाज थियो—आफ्नै सम्मानपूर्ण जीवन र सुरक्षित यात्राको अधिकार खोज्दै आएका आम मानिसहरूको। माइतीघर मण्डलादेखि नयाँ बसपार्कसम्म उपभोक्ताले स्वतःस्फूर्त रूपमा आयोजना गरेको यो आन्दोलन काठमाडौंले अहिलेसम्म देखेकै सबैभन्दा ठूलो थियो।
यात्रुहरू प्लेकार्ड बोकेर भन्दै थिए, "हामी राजनीतिका लागि होइन, हामी सामान्य नागरिक अधिकारको लागि लडिरहेका छौँ!" आन्दोलनको नेतृत्व नेपाल उपभोक्ता महासंघले गरेको थियो, जसको माग थियो—सार्वजनिक यातायातमा सुधार र उपभोक्ताको आधारभूत सम्मान।
आन्दोलनको मर्म थियो: यात्रुले सार्वजनिक यातायातमा गुन्द्रुकजस्तै कोचिएर यात्रा गर्न नपरोस्, बस सफा र समयमै चलून्, ट्राफिक नियमहरूको पालना होस्, विद्यार्थीले भाडा छुट माग्दा अपमानित हुनु नपरोस्। सँगै, जर्मनीजस्तै डिजिटल कार्डबाट भाडा तिर्न सकिने अत्याधुनिक प्रणाली लागू गर्न माग गरियो।
भीडले "कोचाकोच होइन, सम्मानजनक यात्रा हाम्रो अधिकार हो!", "फोहोर होइन, सफा बस हाम्रो माग हो!", "विद्यार्थीको अधिकार, सम्मानसहित छूट पाउन!" जस्ता नाराले काठमाडौं गुन्जियो। प्रहरीले समेत शान्तिपूर्ण आन्दोलनको प्रशंसा गर्दै सतर्कतासहित समर्थन जनाउँदै थिए।
उपभोक्ताहरू आफैँ आश्चर्यमा थिए— यस्तो अभूतपूर्व आन्दोलनमा कुनै तोडफोड थिएन, झडप थिएन, केवल अनुशासित र सभ्य नागरिक आन्दोलन थियो। युवायुवतीहरू गितार बजाउँदै गीत गाउँदै थिए, बृद्धबृद्धा पनि साथ दिन सडकमा उत्रिएका थिए। आन्दोलन कुनै उत्सवभन्दा कम थिएन।
तर, एक्कासि एउटा ठूलो आवाज आयो— बम विस्फोट! सडकमा हल्लाखल्ला भयो, मानिसहरू आतंकित भएर भागाभाग गरे। धुवाँ चारैतिर फैलियो। तर त्यसै बेला...
म हड्बडाएर ब्युँझिएँ। मेरो मुटु अझै जोडसँग ढुकढुक गर्दै थियो। म आफ्नो ओछ्यानमा थिएँ। घडीमा हेर्दा बिहानको ७ बजिसकेको थियो। "सपनामात्र पो थियो त!" मैले राहत र निराशा दुवै महसुस गरें।
बिस्तारै उठेर मोबाइलमा समाचार हेर्दा त्यही पुरानो शीर्षक देखियो— "यातायात व्यवसायीले आन्दोलन फिर्ता लिए।" मन खिन्न भयो। त्यो सपना जो यथार्थ बन्न नसक्ने थियो।
तयार भएर हतारिँदै बस स्ट्यान्डमा पुगेँ। एउटा साझा बस ठूलो मुश्किलले आएको थियो। भित्र हेर्दा फेरि त्यही गुन्द्रुकझैं कोचिएको भिड देखियो। बाहिर निस्किएको आधा शरीरलाई जबरजस्ती भित्र धकेलेर चढ्न बाध्य भएँ। बसभित्र पुनः त्यही असहज यात्रा सुरु भयो। बस ढिलो चल्थ्यो, ट्राफिक नियम मिच्थ्यो, र विद्यार्थीलाई फेरि अपमानित गर्दै थियो।
म मौन थिएँ, तर मनभित्र एउटा ठूलो प्रश्न दोहोरिइरहेको थियो— कति पटक सपना देख्नु पर्ने होला? कहिलेसम्म यस्तो असुविधा सहनुपर्ने होला?
उही भीड, उही सास्ती, उही उपभोक्तालाई अपमान गर्ने शैली अझै कायम थियो। त्यो आन्दोलनको उत्साहपूर्ण सपना केवल मेरो आँखाभित्र सीमित भएर रह्यो। मैले महसुस गरें—हामी सबैका सपना, हाम्रो उपभोक्ता अधिकारको आवाज अझै पनि सडकमा आएको छैन।
म एक पटक फेरि आफ्नो सपनाको सम्झना गरिरहेको थिएँ। काठमाडौँमा सायद एक दिन त्यस्तो आन्दोलन साँचो हुने छ। त्यो दिनको प्रतीक्षा अझै बाँकी नै छ। तबसम्म, काठमाडौँका सार्वजनिक यातायातमा यात्रुहरू यसैगरी गुन्द्रुकजस्तै कोचिइरहन बाध्य हुनेछन्।
अझै धेरै सपना देख्न बाँकी नै छ, अझ धेरै आवाज उठ्न बाँकी नै छ।