सम्पादकलाई डा. नीलमणिको थ्रेट : ‘समाचार सच्याउनु, हैन भने गम्भीर परिणाम!’

काठमाडौं —
जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) मा देखिएको भ्रष्टाचार, विभेद र चिकित्सक शोषणसम्बन्धी हालै प्रकाशित अनुसन्धानात्मक समाचारपछि, मेडिकल डाइरेक्टर डा. नीलमणि उपाध्यायले सम्पादकलाई पठाएको धम्कीपूर्ण सन्देश अहिले चर्को बहसको विषय बनेको छ।
उहाँले सम्पादकलाई पठाएको सन्देशमा लेखिएको छ:
“समाचार सच्याउनुहोस्, नत्र गम्भीर परिणाम आउन सक्छ।”
उहाँले आफू कुनै आर्थिक मामिलामा संलग्न नभएको दाबी गर्दै विद्यार्थीसम्बन्धी विषय प्राचार्यको जिम्मामा पर्ने स्पष्ट पारेका छन्। आफूले केवल अस्पतालको सञ्चालन हेर्ने दाबी गरेका छन्।
तर “गम्भीर परिणाम आउन सक्छ” भन्ने भाषा पत्रकारिता वृत्तमा धम्कीको रूपमा लिइएको छ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि यस्तो भाषा आपत्तिजनक र अस्वीकार्य रहेको विभिन्न सञ्चार विशेषज्ञहरूको धारणा छ।
“यो व्यवहार एक जिम्मेवार मेडिकल डाइरेक्टरको स्तरमा स्वीकार्य हुन सक्दैन,” एक सञ्चार कानुन विज्ञले भने। मानव अधिकारकर्मीहरूले पनि यो भाषा लोकतान्त्रिक मूल्य र जवाफदेहिताप्रतिको अपमान भएको प्रतिक्रिया दिएका छन्।
समाचार यथार्थ, प्रमाणित स्रोत र सम्बन्धित व्यक्तिहरूको बयानमा आधारित रहेको समाचार संस्थाले स्पष्ट पारेको छ। नेपाल मेडिकल कलेजले चाहेमा आफ्नो आधिकारिक धारणा वा प्रतिक्रिया सार्वजनिक गर्न सक्ने सुविधा दिइएको छ। तर यस्तो धारणा धम्कीपूर्ण भाषाबाट मुक्त हुनुपर्छ, अन्यथा यो स्वतन्त्र प्रेसप्रति सीधा हमला मानिनेछ।