स्वास्थ्य

जोरपाटीस्थित एनएमसीमा डनको धम्की: डा. साबिहा यास्मिनले भनिन्—‘करियर सकाइदिन्छु!

जोरपाटीस्थित एनएमसीमा डनको धम्की: डा. साबिहा यास्मिनले भनिन्—‘करियर सकाइदिन्छु!

काठमाडौं । राजधानीको जोरपाटीस्थित नेपाल मेडिकल कलेज (एनएमसी) पछिल्लो समय चिकित्सा शिक्षाको गरिमामय प्रतिष्ठानभन्दा भय, दमन र चरम भ्रष्टाचारको पर्याय बन्न पुगेको छ। व्यवस्थापन तहमा देखिएको चरम अनियमितता, पेशागत दुराचार तथा विभेदपूर्ण व्यवहारका कारण यो संस्थामा अध्ययन, अध्यापन तथा उपचारसमेत जोखिमपूर्ण बनेको छ।

विश्वस्त स्रोतका अनुसार मेडिकल डाइरेक्टर डा. नीलमणि उपाध्याय, अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारी तथा प्रबन्ध निर्देशक डा. साबिहा यास्मिनको त्रिकोणात्मक गठबन्धनले एनएमसीलाई आर्थिक लाभको माध्यम मात्र बनाएको छ। फलस्वरूप त्यहाँ अध्ययनरत नेपाली मात्र होइन, भारतबाट आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू समेत चरम निराशा र तनावमा छन्।

हाल संस्थाका चिकित्साशास्त्र अध्ययनरत प्रशिक्षार्थी चिकित्सकहरू (Resident Doctors) ले महिनौँदेखि राज्यले तोकेको आर्थिक भत्ता (Stipend) नपाएको, आवाज उठाउँदा चरित्र प्रमाणपत्र (Character Certificate) रोक्ने धम्कीको सामना गर्नुपरेको जस्ता गम्भीर आरोप व्यवस्थापनमाथि लगाएका छन्। “हामी अस्पतालमा सिक्न आएका हौँ, डर र आतंक भोग्न होइन,” एक जना विद्यार्थी चिकित्सकले आक्रोशित हुँदै प्रतिक्रिया दिए।

संस्थाका प्राध्यापक (Faculty) तथा कर्मचारी (Administrative Staff) लाई सरकारद्वारा तोकिएको आठौँ तहको तलबमान (8th Level Pay Scale) समेत उपलब्ध गराइएको छैन। थोरै पारिश्रमिकमा निरन्तर अपमानजनक व्यवहार र अत्यधिक कामको बोझका कारण वरिष्ठ चिकित्सकहरूले लगातार राजीनामा दिन थालेका छन्। यसै कारण अस्पतालमा उपचार सेवा प्रभावित भएको छ, सेवाग्राहीको संख्या उल्लेखनीय रूपमा घटेको छ भने अस्पतालका शय्या (Beds) खाली हुने अवस्था बढेको छ।

एनएमसीमा कार्यरत महिला कर्मचारीहरूले अझ गम्भीर प्रकृतिको भेदभाव भोगिरहेका छन्। अस्पताल परिसरबाहिर सामान्य आधुनिक पोशाक लगाएको भन्दै उनीहरूलाई लगातार 'लामो पोशाक' लगाउन निर्देशन दिइएको छ। अस्पतालका केही कर्मचारीहरूले यसलाई “प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा धार्मिक संकीर्णता (इस्लामिक शरियत) लागु गर्ने प्रयास” भएको भन्दै चिन्ता प्रकट गरेका छन्। “हामी चिकित्साकर्मी हौँ, कुनै धार्मिक संस्थाका कार्यकर्ता होइनौँ,” एक महिला कर्मचारीले भनेकी छन्।

यति मात्र होइन, यसै संस्थाले लाइसेन्स नभएकी नर्सलाई नर्सिङ विभागको प्रमुख (Matron) पदमा गैरकानुनी रूपमा नियुक्त गरेको छ। कर्मचारीहरूले व्यवस्थापनको विरुद्धमा गुनासो लिएर जाँदा उनीहरूलाई 'अन्डरवर्ल्ड'को धम्की दिँदै “करिअर समाप्त पार्ने” जस्ता गम्भीर धम्कीहरू दिने गरेको आरोप पनि लागेको छ।

एनएमसीसँगै वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पनि यस्तै भय र आतंकको अवस्थाबाट गुज्रिरहेको छ। यी दुई संस्थाको व्यवस्थापन शैलीमा देखिएको समानता चिन्ताजनक छ। “अस्पताल हो कि जेलखाना, हामीलाई थाहा छैन,” वीरगञ्जका कर्मचारीहरूले सार्वजनिक रूपमा यस्तो प्रतिक्रिया दिन थालेका छन्।

नेपाल मेडिकल कलेजले काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन लिएर एमबीबीएस (MBBS), एमडी (MD/MS), बीडीएस (BDS), बिएस्सी नर्सिङ (BSc Nursing) लगायतका पाठ्यक्रम सञ्चालन गर्दै आएको छ। तर पछिल्ला घटनाक्रमले गर्दा यहाँ शैक्षिक वातावरण नभएको, शिक्षाको स्तर कमजोर हुँदै गएको तथा चिकित्सकीय अभ्यासका लागि जोखिमपूर्ण बनेको भन्दै विद्यार्थी र अभिभावक चिन्तित छन्। विशेषगरी भारतीय अन्तर्राष्ट्रिय विद्यार्थीहरूको बढ्दो असन्तुष्टिले नेपालको चिकित्सा शिक्षाको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई नै गम्भीर क्षति पुर्‍याएको छ।

नेपाल मेडिकल कलेजको वर्तमान अवस्था एउटा ठूलो प्रश्न बनिसकेको छ— चिकित्सा शिक्षा वास्तवमै सेवा हो कि निजी स्वार्थ र व्यक्तिगत सत्ताको अखडा? यस्तो संवेदनशील क्षेत्रमा पनि नेतृत्वकर्ताहरू नै आचारसंहिता, पेशागत इमानदारिता र नैतिकताको पालना गर्न नसके, भविष्यमा नेपाली चिकित्सा शिक्षाको साखलाई कसरी बचाउन सकिएला भन्ने प्रश्न व्यापक रूपमा उठेको छ। सच्चा शिक्षा प्रदान गर्ने अभिप्राय हराउँदै गएको एनएमसीलाई चिकित्सा शिक्षाको मन्दिर होइन, त्रास र शोषणको मञ्च बनाएको आरोप सार्वजनिक रूपमा गुञ्जिरहेको छ।


हेर्नुहोस यो पनि:
डा. द डिक्टेटर’ — जब अस्पतालको स्टेथोस्कोप बन्दूकझैं चल्न थाल्यो!


सम्पादकीय टिप्पणी:
यस सन्दर्भमा हामीले नेपाल मेडिकल कलेजका मानव स्रोत प्रमुख हरि त्रिपाठीसँग सम्पर्क गरेका थियौं। उनले सबै आरोप अस्वीकार गर्दै स्थिति सामान्य रहेको बताए। उक्त फोन नम्बर निजी भएको भन्दै उनले प्रमुख कार्यालयमा सम्पर्क गर्न सुझाए। नेपाल मेडिकल कलेजले आधिकारिक धारणा सार्वजनिक गर्न चाहेमा, पत्रकारिता आचारसंहिताको पालनासहित हामी उनीहरूको पक्ष प्रकाशित गर्न तयार छौं।


समाचारप्रति डा. नीलमणि उपाध्यायको स्पष्टीकरण

हाम्रो हालै प्रकाशित समाचार — जुन नेपाल मेडिकल कलेज (एनएमसी) मा देखिएको प्रशासनिक गम्भीरता र शैक्षिक संकटसँग सम्बन्धित छ — त्यसप्रति डा. नीलमणि उपाध्यायको प्रतिक्रिया प्राप्त भएको छ। उहाँले सम्पादकलाई सम्बोधन गर्दै यस्तो लेख्नुभएको छः

“माननीय प्रधान सम्पादकज्यू, म निवेदन गर्दछु कि समाचार प्रकाशनपूर्व तथ्यको सत्यापन गरियोस्। म, डा. नीलमणि उपाध्याय, स्पष्ट रूपमा घोषणा गर्न चाहन्छु कि म कुनै पनि आर्थिक मामिलामा संलग्न छैन। विद्यार्थीसम्बन्धी सम्पूर्ण कार्यहरु नेपाल मेडिकल कलेजका प्राचार्यमार्फत व्यवस्थापन हुन्छ। मेरो जिम्मेवारी अस्पतालको दैनन्दिन सेवा सञ्चालनमा केन्द्रित छ। समाचारमा सुधार नगरेमा त्यसले गम्भीर असर पार्न सक्छ भन्ने मेरो सौम्य आग्रह रहन्छ। धन्यवाद।”

हामी डा. उपाध्यायद्वारा पठाइएको यो टिप्पणीलाई सम्मानपूर्वक स्वागत गर्दछौं। पत्रकारिताको आचारसंहितामा प्रतिबद्ध मिडिया संस्था भएको हैसियतले हामी प्रत्येक पक्षको धारणा सुन्न र प्रकाशित गर्न सधैं तयार छौं।

यदि नेपाल मेडिकल कलेजले संस्थागत आधिकारिक धारणा सार्वजनिक गर्न चाहन्छ भने हामी त्यसलाई यथोचित प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।