कभर स्टोरी

डा. द डिक्टेटर’ — जब अस्पतालको स्टेथोस्कोप बन्दूकझैं चल्न थाल्यो!

'द डिक्टेटर' चलचित्रका तानाशाहजस्तै बनेका डा. नीलमणि उपाध्यायको भयावह कथा

डा. द डिक्टेटर’ — जब अस्पतालको स्टेथोस्कोप बन्दूकझैं चल्न थाल्यो!

काठमाडौं– नेपाल मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा. नीलमणि उपाध्याय अहिले नेपाली चिकित्सा शिक्षाको क्षेत्रमा सबैभन्दा विवादित र बदनाम पात्र बनेका छन्। उनलाई हलिउड चलचित्र 'द डिक्टेटर' का तानाशाह अलादीनसँग तुलना गर्दै कर्मचारी तथा डाक्टरहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनको मनोमानी व्यवहारले नेपाल मेडिकल कलेजको प्रतिष्ठा धराशायी हुँदै गएको छ।

डा. उपाध्यायको विगतको इतिहास भ्रष्टाचार, अनियमितता र शक्ति दुरुपयोगको आरोपले भरिएको छ। नेपाल मेडिकल काउन्सिलका पूर्व रजिष्ट्रार हुँदा उनीमाथि निजी मेडिकल कलेजहरूलाई बढी विद्यार्थी सिट उपलब्ध गराउने र सरकारी संस्थाहरूलाई सिट कटौती गरेर गुणस्तर घटाउने षड्यन्त्र गरेको आरोप लागेको थियो। उनले गण्डकी मेडिकल कलेजलाई आफ्नी पत्नीलाई जागिर दिन दबाब दिएको आरोप पनि चर्चामा छ।

नेपाल मेडिकल कलेजमा उनको व्यवहार तानाशाही प्रवृत्तिको भएको भन्दै अनेक रिपोर्टहरू बाहिरिएका छन्। उनले कर्मचारीहरूलाई डर देखाएर एकलौटी निर्णय गर्ने, आफ्ना कुरा नमाने अपमान गर्ने र कलेजभित्र त्रासको वातावरण बनाएको गुनासो डाक्टरहरूले गरेका छन्। यस व्यवहारले गर्दा उनी परिवार, आफन्त र साथीभाइबीच समेत अलग्गिएका छन्। उनका निकटस्थहरूले उनको सामाजिक स्वभाव अत्यन्तै असह्य भएको बताएका छन्।

डा. उपाध्याय आर्थिक रूपमा निकै सम्पन्न रहेको बताइन्छ। यसबारे अस्पतालभित्रै उनीमाथि भ्रष्टाचार र अनियमितताबाट अवैध सम्पत्ति आर्जन गरेको आरोप पनि लागेको छ। यस्तै, उनले चीन भ्रमणका क्रममा किस्ट मेडिकल कलेजका मालिक बलमान सिंह कार्कीसँगको सम्बन्धले समेत विवाद खडा भएको थियो।

वि.सं. २०७३ मा काठमाडौं विश्वविद्यालयको इन्ट्रान्स परीक्षामा अख्तियारको टोली लिएर डा. उपाध्यायले हस्तक्षेप गरेपछि शैक्षिक संस्थाहरूको स्वायत्तता नै धरापमा परेको भन्दै उनको आलोचना भएको थियो। यस्तै, पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँगको निकट सम्बन्धका कारण पनि उनको छवि थप विवादित बनेको थियो।

यसरी, डा. उपाध्यायको विवादित व्यक्तित्वले नेपालको मेडिकल क्षेत्रलाई गम्भीर चुनौती दिएको छ। तानाशाह अलादीनझैं नेपाली चिकित्सा शिक्षालाई आफ्नो निजी स्वार्थ र एकलौटी शासनबाट सञ्चालन गर्न खोज्दा उनले आफूलाई सामाजिक रूपमा अलग्ग्याएर एक्लो र बदनाम जीवन बिताउन बाध्य छन्। यस स्थितिले नेपाल मेडिकल कलेज मात्र नभई सम्पूर्ण चिकित्सा क्षेत्रको गरिमा नै संकटमा परेको छ।

आयोगले स्पष्ट पारेको खलपात्रको रूपमा नीलमणिको भूमिकाः

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले २०७४ मा तयार पारेको प्रतिवेदनमा सबैभन्दा बढी आलोचित पात्र डा. नीलमणि उपाध्याय थिए। आयोगले उपाध्यायलाई चिकित्सा शिक्षामा अनियमितता र विकृति संस्थागत गर्ने मूल खेलाडीका रूपमा पहिचान गरेको छ।

उनले नेपाल मेडिकल काउन्सिलमा रहँदा सिट निर्धारण, निरीक्षण, दबाबमा निर्णय गराउने, तथा पत्नीलाई गैरकानुनी ढंगले जागिर दिलाउनेजस्ता कार्यहरूमा गम्भीर दुरुपयोग गरेका थिए। सैनिक अस्पतालमा जागिर लिएर काउन्सिलबाट दोहोरो तलब लिनु, बिना प्रमाणित निर्णयहरू कार्यान्वयन गर्नु, भ्रष्टाचार अनुसन्धानको सिफारिसमा परेका थुप्रै कार्यहरू उनका नाममा छन्।

नेपाल मेडिकल कलेजमा उनको अहिलेको भूमिकाले तिनै प्रवृत्तिको निरन्तरता दिएको छ। अस्पतालका चिकित्सक र कर्मचारीहरू उनलाई एक क्रूर तानाशाहको रूपमा चित्रित गर्छन्, जसले डरको शासनमार्फत संस्थालाई चलाइरहेका छन्। शिक्षकको स्वतन्त्रता, विद्यार्थीको भोलि र संस्थाको गरिमा संकटमा परेको गुनासो व्यापक छ।

चिकित्सा शिक्षा सुधारका लागि गरिएको आन्दोलन, सरकारसँग भएका सम्झौताहरू, नियामक संस्थाहरूको गरिमा—सबैलाई कमजोर बनाउन डा. उपाध्यायको भूमिका घातक रहँदै आएको देखिन्छ। यो अवस्था परिवर्तन नभएसम्म नेपाल मेडिकल कलेज तानाशाही प्रयोगशाला बन्ने खतरा अझै रहन्छ।