कभर स्टोरी विदेश

भारतको ‘अपरेशन सिन्धूर’: चिनियाँ हतियारमाथि भारतको सामरिक जितको कथा

भारतको ‘अपरेशन सिन्धूर’: चिनियाँ हतियारमाथि भारतको सामरिक जितको कथा

लेखक: जोन स्पेन्सर

सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको ‘मेक इन इन्डिया’ (Make in India) अभियानसँगै भारतको रक्षा क्षेत्रले ठूलो छलाङ मार्‍यो। विदेशी हतियारमा रहेको निर्भरता घटाउँदै विश्वस्तरीय स्वदेशी रक्षा उद्योग निर्माण गर्नु यस अभियानको मुख्य उद्देश्य थियो। रक्षा क्षेत्रमा ७४ प्रतिशतसम्म विदेशी प्रत्यक्ष लगानीलाई (FDI) अनुमति दिइयो। यसले सरकारी तथा निजी कम्पनीहरूलाई स्वदेशमै अत्याधुनिक सैन्य उपकरण निर्माण गर्न प्रोत्साहित गर्‍यो। केही वर्षमै भारतले ब्रह्मोस (BrahMos) मिसाइलके-९ वज्र होवित्जर (K9 Vajra howitzer) र AK-203 राइफल जस्ता उच्च प्रविधियुक्त हतियार स्वदेशमै उत्पादन गर्न थाल्यो।

सन् २०२० मा गलवान झडप र कोभिड-१९ महामारीले विदेशी आपूर्ति प्रणालीको कमजोर पक्ष उजागर गरेपछि मोदीले दोस्रो चरणको अभियान ‘आत्मनिर्भर भारत’ (Self-Reliant India) घोषणा गरे। यो केवल आर्थिक नीति नभई राष्ट्रिय सुरक्षाको सिद्धान्त बन्यो। भारतले चरणबद्ध रूपमा महत्वपूर्ण रक्षा उपकरणको आयातमा रोक लगाउँदै स्वदेशी अनुसन्धान, डिजाइन र उत्पादनमा व्यापक लगानी गर्‍यो। सन् २०२५ सम्म आइपुग्दा रक्षा क्षेत्रमा घरेलु उत्पादनको अंश ३० प्रतिशतबाट बढेर ६५ प्रतिशतसम्म पुगिसकेको छ, दशकको अन्त्यसम्म यो लक्ष्य ९० प्रतिशत पुर्‍याउने योजना छ।

‘अपरेशन सिन्धूर’: भारतको आत्मनिर्भरतालाई युद्धभूमिमा प्रमाणित गरेको अभियान

२२ अप्रिल २०२५ मा जम्मू–कश्मीरको बैसरान उपत्यकामा पाकिस्तान समर्थित आतंकवादी हमलामा २६ भारतीय सर्वसाधारणको ज्यान गएपछि भारतले ‘अपरेशन सिन्धूर’ नामक सैन्य अभियान सुरु गर्‍यो। बहुआयामिक सैन्य कारबाही अन्तर्गत गरिएको यो अभियानले सीमापार आतंकवादी सञ्जाल मात्र ध्वस्त गरेन, भारतको स्वदेशी रक्षा प्रविधिलाई युद्धभूमिमै प्रमाणित गर्ने ठूलो अवसर बन्यो।

यो अभियानमा भारतीय स्वदेशी सैन्य उपकरण र चीनद्वारा आपूर्ति गरिएका पाकिस्तानी हतियारबीचको प्रत्यक्ष टक्कर थियो। युद्धमा मात्र होइन, प्रविधिको तुलनामा पनि भारत स्पष्ट रूपमा विजयी रह्यो। ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’ नीतिअन्तर्गत निर्मित सैन्यशक्तिले यो लडाइँ निर्णायक बनायो।

युद्धभूमिमा प्रमाणित भारतका स्वदेशी हतियारहरू:

ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइल
भारतीय भूमिमा उत्पादन भएको, विश्वकै सबैभन्दा छिटो (Mach 2.8–3.0) मिसाइल। यसले उच्च-मूल्यका पाकिस्तानी सैन्य लक्ष्यहरू ध्वस्त गर्‍यो।

आकाश SAM र आकाशतीर सिस्टम
भारतको DRDO र भारत डायनामिक्सले विकास गरेको मोबाइल एयर डिफेन्स सिस्टम। यसले ड्रोन, मिसाइल, विमानहरूसँग सफलतापूर्वक लड्यो।

रुद्रम एन्टि–रेडिएसन मिसाइल
भारतीय स्वदेशी उत्पादन। यसले पाकिस्तानी राडार प्रणाली ध्वस्त पार्दै लाइन अफ कन्ट्रोल (LoC) वरपर पाकिस्तानी हवाई रक्षालाई निस्तेज गर्‍यो।

नेत्र एयरबोर्न अर्ली वार्निङ एण्ड कन्ट्रोल (AEW&C)
भारतीय DRDO द्वारा विकसित हवाई निगरानी विमान। यसले पाकिस्तानी हवाई रडार (Saab 2000 AEW&C) लाई ध्वस्त गरी युद्धमा निर्णायक भूमिका खेल्यो।

लाइटरिङ म्युनिसन (हेरोप, स्काइस्ट्राइकर ड्रोन)
युद्धस्थलमा लक्ष्यको पहिचान गरी स्वचालित रूपमा आक्रमण गर्ने ड्रोनहरू, जसले पाकिस्तानी सैन्य पूर्वाधार तहसनहस गरे।

D4S एन्टी–ड्रोन प्रणाली
स्वदेशी ड्रोन रक्षा प्रणाली। यसले चिनियाँ ड्रोनहरूलाई सजिलै निष्क्रिय गर्‍यो।

M777 अल्ट्रा–लाइट होवित्जर तोप
भारतीय हिमाली युद्धनीतिअनुसार उपयोग गरियो, जसले पाकिस्तानस्थित आतङ्कवादी अखडा नष्ट गर्‍यो।

राफेल, सु–३० एमकेआई र मिराज २००० जेट
भारतका अत्याधुनिक लडाकु विमान, जसले पाकिस्तानी वायुसेनालाई निरन्तर दबाबमा राखे।

पाकिस्तानको चिनियाँ सैन्य प्रविधि असफल

चिनियाँ हतियार प्रणाली (JF-17, HQ-9, HQ-16 मिसाइल, CH-4 ड्रोन) युद्धमा पूर्णतः असफल रहे। पाकिस्तानका अधिकांश सैन्य उपकरण भारतको इलेक्ट्रोनिक वारफेयर प्रणालीको अगाडि टिक्न सकेनन्।

निर्णायक सामरिक सन्देश

भारतले युद्धभूमिमा आफूलाई ‘सार्वभौम सैन्यशक्ति’ प्रमाणित गर्‍यो भने पाकिस्तान चिनियाँ हतियारमा पूर्ण रूपमा निर्भर, कमजोर सामरिक हैसियत रहेको मुलुक साबित भयो। युद्धपछि भारतीय रक्षा कम्पनीहरूको बजार मूल्य उल्लेख्य रूपमा बढ्यो, चिनियाँ कम्पनीहरूको मूल्य खस्कियो।

अपरेशन सिन्धूर केवल सैन्य अभियान थिएन, यो आधुनिक सैन्य प्रविधिमा भारतको आत्मनिर्भरताको ऐतिहासिक प्रदर्शन थियो। भारतले युद्धमै प्रमाणित गरिदियो—‘आत्मनिर्भर भारत’ सिद्धान्त केवल नारामा सीमित छैन, युद्धमा पनि प्रभावकारी छ।


जोन स्पेन्सरको परिचय:

जोन स्पेन्सर अमेरिकी सेनाका पूर्व अफिसर, युद्ध विशेषज्ञ, र अन्तर्राष्ट्रियस्तरमा चर्चित सैन्य रणनीतिकार हुन्। उहाँ वेस्ट पोइन्टस्थित मोडर्न वार इन्स्टिच्युटका चेयर तथा ‘अर्बन वारफेयर प्रोजेक्ट’का निर्देशक पनि हुनुहुन्छ।