हिन्दू युवतीहरू धर्मान्तरणमा प्रयोग? नेपाल हुँदै अयोध्यामा पुगेको करोडौं!

भारतको उत्तर प्रदेशस्थित बलरामपुरका जलालुद्दिन उर्फ चङ्गुर बाबा हाल दक्षिण एसियाकै सबैभन्दा ठूला धर्मान्तरण काण्डका केन्द्रमा परेका छन्। उत्तर प्रदेश आतंकवाद निरोधक दस्ताले (ATS) सार्वजनिक गरेको रिपोर्ट अनुसार उनले पछिल्लो तीन वर्षमा पाकिस्तान, दुबई, साउदी अरेबिया र टर्की जस्ता मुस्लिम बहुल देशबाट झन्डै ५०० करोड भारु विदेशी सहयोग पाएका थिए, जसमध्ये २०० करोड आधिकारिक रूपमा प्रमाणित छ भने बाँकी ३०० करोड नेपाल हुँदै अवैध हवालामार्फत भारत भित्रिएको छ।
नेपालका काठमाडौं, नवलपरासी, रुपन्देही र बाँकेको सीमावर्ती क्षेत्रमा खोलिएका सयभन्दा बढी बैंक खातामा रकम जम्मा गरिएको थियो। स्थानीय एजेन्टहरूले ४–५ प्रतिशत कमिसन लिएर ती पैसा चङ्गुरसम्म पुर्याए, जुन अन्ततः भारतका बलरामपुर, श्रावस्ती, बहराइच, लखीमपुर र अयोध्याजस्ता जिल्लामा रूपान्तरण कार्यक्रमका लागि खर्च गरिएको आरोप छ। पैसा नकद जम्मा गर्ने मेसिन (Cash Deposit Machine) प्रयोग गरी पठाइएको थियो, जुन भारतीय रुपैयाँमा साटेर स्थानीय सञ्जालमार्फत भित्र्याइन्थ्यो।
अयोध्यामा सबैभन्दा धेरै पैसा पुगेको र त्यहाँ विशेषगरी हिन्दू किशोरीहरूलाई धर्म परिवर्तन गराउने प्रयास भएको आशंका गरिएको छ। चङ्गुर र उनका सहयोगीहरूका ४० बैंक खाताको छानबिन सुरु भइसकेको छ। अनुसन्धानका क्रममा चङ्गुरको नजिकका सहयोगी नवीन् रोहरा र नसरीनका खातामा क्रमशः ३४.२२ करोड र १३.९० करोड भेटिएको छ। यसैबीच, बलरामपुरमा सरकारी जमिन अतिक्रमण गरेर बनाइएको चङ्गुरको ५ करोड मूल्यको ४० कोठे आलिशान बंगला तीन दिनमै १० बुल्डोजर लगाएर भत्काइएको छ। संगमरमरको गेट भएको उक्त बंगला स्थानीयहरूका लागि शक्तिको प्रतीक बनेको थियो, जुन एकै झट्कामा ध्वस्त बनाइयो।
नेपाल र भारतका सिमावर्ती जिल्लामा फैलिएको यस्तो गहिरो आर्थिक र धार्मिक सञ्जालले दुबै मुलुकका सुरक्षानिकायहरूलाई झस्काइदिएको छ। भारतीय अनुसन्धानकर्ताहरू अहिले चङ्गुरका सारजहा, दुबई र युएईका विदेशस्थित खाताहरूमा अनुसन्धान गर्दैछन् भने आयकर विभागले १० वर्षका विवरण मागिसकेको छ। नेपालको भूमिका यस प्रकरणमा विवादको केन्द्र बनेको छ, किनभने हवालाको सहज मार्गको रूपमा सधैं प्रयोग हुँदै आएको छ, जुन नेपाली संस्थागत कमजोरी र सीमापार अपराधमा गहिरिएको संरचनागत संकटको घोतक हो।
यस घटनाले नेपाल–भारत सम्बन्धमा नयाँ प्रश्न खडा गरेको छ—कसरी सिमानाहरू यति सहज तवरले आपराधिक आर्थिक क्रियाकलापको मार्ग बन्न पुगे? स्थानीय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा यस्तो अदृश्य हस्तक्षेप रोक्न के नेपाल र भारतको प्रशासन तयार छ, वा अझै गहिरो जडहरू खनिन बाँकी छन्?
नेपाल मेडिकल कलेज चङ्गुर बाबा