खेल

भारतले नेपाली क्रिकेटरहरूमा ठूलो लगानी किन गरिरहेको छ — वास्तविकता के हो?

भारतको क्रिकेट कूटनीतिले नेपालमा खेलको भविष्य सधैंका लागि बदल्दै छ?

भारतले नेपाली क्रिकेटरहरूमा ठूलो लगानी किन गरिरहेको छ — वास्तविकता के हो?

नेपालमा क्रिकेटको चर्चा जब पनि हुन्छ, आशा र सम्भावनाको कुरा अघि आउँछ। अहिले त्यही सम्भावनालाई मूर्तरूप दिन भारतले गरेको अभूतपूर्व सहयोगले दुई देशबीचको सम्बन्धलाई नयाँ कूटनीतिक उचाइ दिएको छ। पछिल्ला दुई वर्षदेखि क्रिकेटमार्फत नेपाल र भारतका युवाबीच देखिएको सामूहिक उत्साहले यी दुई छिमेकी देशका ऐतिहासिक सम्बन्धमा खेलमार्फत एउटा नयाँ कथा थपेको छ।

भारत सरकार र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले नेपाल क्रिकेट संघ (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण प्रदान गर्दै आएका छन्। यसै क्रममा, आउँदो अक्टोबरमा ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितालाई लक्षित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले जुलाई २१ देखि अगस्ट ३ सम्म भारतको बेंगलुरुस्थित बीसीसीआई सेन्टर अफ एक्सिलेन्समा अन्तर्राष्ट्रियस्तरको विशेष प्रशिक्षण हासिल गरिरहेको छ।

यसअघि पनि अगस्ट २०२४ मा सोही सेन्टरमा आयोजित प्रशिक्षण शिविरले नेपाली क्रिकेट टोलीलाई टी–२० विश्वकपका लागि महत्वपूर्ण तयारीको अवसर प्रदान गरेको थियो। त्यस्तै, सन् २०२४ को अप्रिल महिनामा नेपालले बरोडा र गुजरातका टोलीहरुसँग त्रिकोणात्मक टी–२० अभ्यास प्रतियोगितामा सहभागिता जनाएको थियो। यी प्रयासहरुले स्पष्ट रूपमा नेपाललाई क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उच्च तहमा पुर्‍याउन भारतीय पक्षको गम्भीरतापूर्वक लगानी भइरहेको संकेत गर्छन्।

सन् २०२४ जनवरीमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरले क्यानका प्रतिनिधि र नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूसँग भेट गर्दै नेपालको क्रिकेट विकासमा भारतको सहयोग निरन्तर रहने वाचा गर्नुभएको थियो। यसले क्रिकेट सहयोगलाई राजनीतिक तहबाट प्राप्त उच्च प्राथमिकतालाई पनि प्रष्ट रूपमा देखाएको छ।

पुरुष क्रिकेट टोली मात्र होइन, नेपाली महिला क्रिकेट टोलीले पनि भारतीय सहयोगबाट निकै लाभ लिएको छ। सन् २०२५ मेमा थाइल्याण्डमा भएको आइसीसी महिला विश्वकप एसिया छनोटको तयारीका लागि अप्रिल–मे महिनामा दिल्लीमा गरिएको विशेष प्रशिक्षण शिविरले नेपाली महिला टोलीलाई इतिहासमै पहिलोपटक उक्त प्रतियोगिताको फाइनलसम्म पुर्‍यायो।

भारतको यस क्रिकेट कूटनीतिमा युवा खेलाडीहरू पनि छुटेका छैनन्। जुलाई २०२५ मा काठमाडौंस्थित भारतीय राजदूतावासले तीन जना प्रतिभाशाली नेपाली यू–१९ क्रिकेटरलाई भोपालमा एक महिनाको व्यावसायिक प्रशिक्षण प्रदान गरेको थियो। यसले नेपाली क्रिकेटको भविष्य निर्माणमा भारतको भूमिका र चासोलाई थप प्रष्ट पारेको छ।

सन् २०१३ मा नेपाल क्रिकेट संघलाई बस उपहार प्रदान गरेर सुरु भएको भारतीय सहयोग अहिले खेलकुद उपकरणदेखि युवा क्रिकेटरहरूको सीप विकाससम्म फैलिएको छ। २०२३ मा बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र एसजेभीएन लिमिटेडको संयुक्त पहलमा नेपाली क्रिकेट टोलीलाई खेलकुद उपकरण प्रदान गरिएको थियो। यी कदमहरूले भारत नेपालसँग क्रिकेटका माध्यमबाट दीर्घकालीन सम्बन्ध जोड्न गम्भीर भएको स्पष्ट पार्छन्।

यद्यपि, यी सबै उपलब्धिहरूको बीचमा केही प्रश्नहरू पनि उठ्न थालेका छन्। क्रिकेट सहयोगमार्फत भारतले देखाएको उच्च तहको लगानीका पछाडि के विशेष रणनीतिक उद्देश्य पनि छन् कि भन्ने शंका विश्लेषकहरूले राखेका छन्। अर्को महत्वपूर्ण प्रश्न के पनि छ भने नेपालले यो सहयोगलाई दिगो बनाउन आफ्नै आन्तरिक व्यवस्थापन कसरी प्रभावकारी बनाउन सक्छ?

क्रिकेटको सफलताले दुई देशबीच नयाँ ऊर्जा ल्याएको छ। तर क्रिकेट कूटनीतिको सफलताको कथाले अर्को एउटा गम्भीर प्रश्न पनि छोडेको छ—के यो सफलताले नेपालको खेल संस्कृति र भारत–नेपाल सम्बन्धको भविष्यलाई पनि स्थायी रूपमा प्रभावित गर्नेछ? उत्तर अहिले नै दिन गाह्रो छ, तर भविष्यका दिनमा यसको प्रभाव स्पष्ट हुँदै जानेछ।