विविश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट काठमाडौंमा सुरु, जेताले इङ्ल्यान्ड जाने मौका

विश्वकप टिम टेबलटेनिस च्याम्पियनसिप–२०२६ को लागि दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधबारदेखि काठमाडौंमा सुरु भएको छ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको दुई दिने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुभयो।
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सले सहभागिता जनाएका छन्।
भारतबाट १० खेलाडी सहभागी छन् भने नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान ८–८ जना खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन्।
प्रतियोगितामा पुरुष र महिला गरी दुई विधामा टिम प्रतिस्पर्धा भइरहेको छ। च्याम्पियनसिपको विजेता टिमले सन् २०२६ मा इङ्ल्यान्डमा आयोजना हुने विश्वकप टेबलटेनिस च्याम्पियनसिपमा भाग लिने अवसर प्राप्त गर्नेछ।
नेपालका लागि ऐतिहासिक अवसर मानिएको यस प्रतियोगिता घरेलु खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र अनुभव सँगै भविष्यको तयारी गर्न महत्वपूर्ण ठहरिएको छ।