नेपालले जित्यो एसिसी यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौँ, असार २१ – नेपालले मलेसियामा सम्पन्न एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। युकेएम ओभलमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले सिङ्गापुरलाई दुई विकेटले पराजित गर्दै उपाधि हात पारेको हो।
सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि जोय थापा र अभय यादव अविजित रहँदै क्रमशः २४ र १० रन बनाए। शिवान्स बजगाईले २०, शुभम खनालले १८ र प्रसिद्ध जैशीले १७ रनको योगदान दिए।
नेपालले १३ रनमै पहिलो विकेट गुमाएको थियो। त्यसपछि बजगाईँले आक्रामक पारी खेले। ४० रनमा दुई विकेट र ५८ रनमा थप दुई विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो। जोय थापा र शुभम खनालले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गर्दै खेलको रफ्तार सम्हाले।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुर ४०.५ ओभरमा ११३ रनमै समेटिएको थियो। उसका लागि रोहन अस्टिनले २३ रन बनाए। नेपालका बलरमध्ये अभय यादव र सुशील रावलले तीन–तीन, शुभम खनालले दुई र कप्तान विपिन शर्माले एक विकेट लिए।
nepalaaja