समाचार राजनीति

ओलीले चीनमा उठाए लिपुलेकको विस्फोटक मुद्दा, सीको जवाफले थप चासो

ओलीले चीनमा उठाए लिपुलेकको विस्फोटक मुद्दा, सीको जवाफले थप चासो

चीनको तियानजिनमा शनिबार भएको उच्चस्तरीय भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई नयाँ मोड दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच तियानजिन अतिथि गृहमा भएको द्विपक्षीय कुराकानीले दुई देशबीचको दीर्घकालीन सहकार्यलाई अझ मजबुत बनाउने संकेत दिएको छ।

प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सीको निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५औँ शिखर सम्मेलन र द्वितीय विश्वयुद्धमा फासीवादविरुद्धको विजय तथा जापानी उपनिवेशविरुद्ध चिनियाँ जनताको संघर्षको ८०औँ वार्षिकोत्सवमा सहभागी हुन शनिबार तियानजिन पुगेका थिए।

भेटमा दुवै नेताबीच आर्थिक, सामाजिक र कूटनीतिक सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री ओलीले हालै चीन–भारतबीच भएको लिपुलेकमार्ग व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै सो क्षेत्र नेपालको अविभाज्य हिस्सा भएको स्पष्ट पारे। सचिव राईले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने, “सन् १८१६ को सुगौली सन्धिअनुसार महाकालीको पूर्वतर्फको भूभाग नेपालकै हो र यस विषयमा चीनले नेपाललाई सहयोग गर्ने विश्वास लिइएको छ।”

चिनियाँ राष्ट्रपति सीले भने नेपालको अडानलाई अस्वीकार नगरी भारतसँग छलफलमार्फत समाधान खोजिनुपर्ने धारणा राखेका थिए। यसैबीच बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा पनि प्रधानमन्त्रीले लिपुलेकसम्बन्धी चीन–भारत समझौतामा नेपालले ‘स्ट्रोङ अब्जेक्सन’ जनाएको पुष्टि गरिएको छ।

प्रधानमन्त्री ओलीले भेटमा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तअनुसार नेपाल–चीन सम्बन्धमा कुनै समस्या नरहेको बताए। उनले नेपाल एससिओको पूर्ण सदस्य बन्ने आकांक्षामा चीनको समर्थन माग्दै बिआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) अन्तर्गतका परियोजनाको कार्यान्वयनमा तीव्रता ल्याउन आग्रह गरे। साथै मल आपूर्ति, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास र जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहयोगको अनुरोध गरेका थिए।

राष्ट्रपति सीले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुकमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” अभियानमा सहयोग गर्ने आश्वासन दिए। उनले चीनले नेपाललाई संयुक्त राष्ट्रसंघ र एससिओसहितका बहुपक्षीय मञ्चमा सहयोग गर्ने बताए।

भेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा, परराष्ट्र सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली लगायत सहभागी थिए।

तियानजिन विमानस्थलमा प्रधानमन्त्री ओलीलाई चीन सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत डा. ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले स्वागत गरेका थिए। सोमबारदेखि सुरु हुने एससिओ शिखर सम्मेलनमा ओलीले अतिथिका रूपमा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा अन्य मुलुकका शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनले चिनियाँ उपराष्ट्रपति हान चङसँग बेइजिङमा द्विपक्षीय भेट गर्ने, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत माल्दिभ्स, कम्बोडिया, लाओस र भियतनामका सरकार प्रमुखसँग पनि छुट्टाछुट्टै वार्ता गर्ने तयारी गरिएको छ। भदौ १८ गते उनी फासीवादविरुद्धको विजय दिवसमा हुने सैन्य परेडमा सहभागी हुनेछन्।

यस भेटवार्ताले नेपाल–चीन सम्बन्धलाई अझ प्रष्ट र गहिरो बनाएको देखिन्छ। तर लिपुलेक विवादले क्षेत्रीय भू–राजनीतिमा संवेदनशील प्रश्न उठाइरहेको छ, जसको समाधान नेपाल, चीन र भारतबीचको संवादबाट मात्रै सम्भव हुने देखिन्छ।